News

राहदानीको अनुशन्धान भए रवि लामिछानेलाई हुन सक्छ ५ वर्ष कैद

राहदानीको अनुशन्धान भए रवि लामिछानेलाई हुन सक्छ ५ वर्ष कैद

सर्वोच्च अदालतले गत शुक्रवार पूर्वसञ्चारकर्मी रवि लामिछानेको पुरानो नागरिक्ता रद्द गर्यो। नागरिक्तासँगै उनले मन्त्री, सांसद, संसदिय दलको नेतार र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद समेत गुमाए।

उनले जिल्ला प्रशासन कार्यालय काठमाण्डौंबाट आईतवारै नयाँ नागरिक्ता प्राप्त गरी सकेका छन् । तर, उनले आफूसँग अमेरिकी राहदानी हुँदा–हुँदै कानूनअनुसार निष्क्रिय भइसकेको नागरिकता प्रयोग गरेर नेपाली राहदानी बनाएर प्रयोग गरेको विषय प्रमाणित भयो।

उनले आफू अमेरिकी नागरिक हुँदा नै नेपाली राहदानी बनाएको स्वीकार गरिसकेका छन्। तर, नेपाली राहदानी प्रयोग नगरेको उनको दावी छ। 

अध्यागमन ऐन २०४९ को दफा ५ अनुसार कसैले आफ्नो नाम, उमेर, राष्ट्रियता वा अन्य कुरा ढाँट्न, झुटा विवरण दिन वा जाली राहदानी वा भिसा प्रयोग गर्न नहुने उल्लेख छ। उनले आफू अमेरिकी नागरिक भइसक्दासमेत नेपाली नागरिक भएको झुटा विवरण दिएर राहदानी लिएको पुष्टि भइसकेको छ।

सोही ऐनको दफा १० अनुसार यदि कसैले राष्ट्रियता ढाँटेमा र झुटा विवरण दिएर राहदानी लिएमा ५० हजार रुपैयाँ जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने उल्लेख छ।

प्रहरीमा उनको नागरिकता र राहदानी लगायतका विषयमा अनुसन्धानका लागि निवेदन दर्ता भइसकेको छ। गृह मन्त्रालयबाट जिल्ला प्रशासन कार्यालय हुँदै जिल्ला प्रहरी परिसरमा मंसिर १२ गते दर्ता नम्बर ७० मा जिल्ला प्रशासन कार्यालय काठमाडौंले लामिछानेको राहदानी, नागरिकता लगायतका बारे छानबिन गर्न पठाएको पत्र दर्ता भएको थियो।

उनी गृहमन्त्री नियुक्त हुनुअघिसम्म प्रहरीले तीव्र रूपमा अनुसन्धान अगाडि बढाउँदै मंसिर १८ मा जिल्ला निर्वाचन कार्यालय चितवन, जिल्ला प्रशासन कार्यालय काठमाडौं, निर्वाचन आयोग र मंसिर २९ मा राहदानी विभाग, प्रहरी प्रधान कार्यालयमार्फत अमेरिकी नागरिकता लिएको र त्यागेको कागजपत्र मगाउन नेपालस्थित अमेरिकी दुतावासमा पत्र पठाएको देखिन्छ।

अमेरिकी दुतावासबाहेक अन्यले प्रहरीलाई जवाफ समेत पठाए। पुस ११ गते जव रवि उप–प्रधान तथा गृहमन्त्रीमा नियुक्त भए, त्यसपछि प्रहरी अनुसन्धान रोकियो। उजुरीलाई प्रहरीले जाहेरीको रूपमा अगाडि बढाउँदै सम्बन्धित व्यक्तिको बयान लगायतका प्रक्रियामा प्रवेशै गरेन।

अहिले उनी पुनः गैरसांसदको रूपमा गृहमन्त्रीमा नियुक्त हुन दौडधूप गरिरहेका छन् । आफैँ गृहमन्त्री बनेर उप–निर्वाचनबाट सांसद भएर आउने नसके आफ्नै पार्टीबाट गृहमा अर्को सांसद बनाउने रविको योजना छ। उनले आजै प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर गृहमन्त्रीमा नियुक्त नगरे सरकार छोड्ने धम्की समेत दिएका छन् ।

रविको दौडधूपसँगै अब प्रहरीमा रोकिएको अनुसन्धान के हुन्छ भन्ने चासो भने बढाएको छ। यद्यपी प्रहरीले भने अनुसन्धान गर्न समय लाग्ने तर कहिँ कतैबाट प्रभावित भएर नरोकिने दावी गरेको छ।
 

विशेष