News

बलात्कार पीडित महिलालाई उजुरी नगर्न धम्की दिँदा जेलको बास

बलात्कार पीडित महिलालाई उजुरी नगर्न धम्की दिँदा जेलको बास

बलात्कारको घट्नालाई मिलापत्र गराउन खोज्ने र प्रहरीमा उजुरी नगर्न दवाव दिने दुई जना पञ्चलाई सप्तरी जिल्ला अदालतले कैद सजाय गरेको छ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका–७ ब्रहमपुरका ५० वर्षीय शत्रुघन मण्डल र ४५ वर्षीय उचितलाल मण्डललाई सप्तरी जिल्ला अदालतले एक–एक वर्ष कैद सजायको फैसला सुनाएको हो।

जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले पीडितलाई जनही २५ हजार क्षतिपूर्ति दिन पनि फैसला गरेको छ। उनीहरुलाई आत्महत्या दुरुत्साहनमा कैद सजाय भएको अदालतका श्रेस्तेदार कुमार मास्केले बताए।

शत्रुघनका दाजु ६५ वर्षीय जयकान्त मण्डल, भाइ ४५ वर्षीय देबु मण्डल, सोही गाउँका ५० वर्षीय सत्यनारायण मण्डल, ६० वर्षीय वासुदेव मण्डल, ४५ वर्षीय बिन्देश्वर मण्डल र वंशराज मण्डललाई जनही २० हजार जरिवाना गर्ने फैसला भएको छ। सबैबाट समेत जनही २५ हजार पीडित परिवारलाई क्षतिपूर्तिवापतको रकम भराउने फैसला भएको अदालतका श्रेस्तेदार मास्केले बताए।

सामूहिक बलात्कारका मुख्य आरोपित १७ र १६ वर्षीय दुई बालकलाई कसुरदार ठहर गरी सजाय निर्धारणका लागि यही पुस २८ गतेको मिति निर्धारण गरिएको छ। बलात्कारको आरोपमा २०७७ असोज १ गते पक्राउ परेका दुई बालक अदालतको आदेशमा असोज २७ गतेदेखि पुर्पक्षका लागि बाल सुधारगृह वीरगञ्जमा छन्।

घटनामा ‘वारेण्ट’पछि अदालतमा हाजिर भएका २७ वर्षीय धर्मदेव मण्डललाई मुख्य कसुरदारलाई हुने सजायको आधा सजाय हुने ठहर गरिएको छ। अर्का फरार २५ वर्षीय विसु भनिने विष्णु मण्डलको हकमा पक्राउ परेपछि फैसला हुने गरी मुद्दा मुल्तबी राख्ने फैसला भएको छ।

आफ्नो धानखेतमा पानी हेर्न गएकी बालिकामाथि ०७७ भदौ २९ गते बिहान सामूहिक बलात्कार भएको थियो। बलात्कारको घटनापछि आरोपितविरुद्ध उजुरी गर्न रोक लगाउँदै पञ्चले पीडित परिवारलाई प्रहरीकहाँ उजुरी गरे गाउँ निकाला गर्ने र सामाजिक बहिष्कार गर्ने चेतावनी दिएका थिए। न्याय पाउने आशा मरेपछि घटनाको भोलिपल्टै भदौ ३० गते पीडित बालिकाले आत्महत्या गरेकी थिइन्।

सामूहिक बलात्कार घटनाका आरोपितहरूविरुद्ध प्रहरीकहाँ उजुरी गर्न गाउँलेले नै रोक लगाउँदै धम्कीपूर्ण चेतावनी दिएपछि पीडित बालिकाले घरमै झुण्डिएर आत्महत्या गरेको भन्दै पीडितकी आमाले उजुरी दिएकी थिइन्।
 

विशेष