News

संस्कृतमा सपथ ग्रहण गरेका स्वतन्त्र सांसदले किन रोजे एमाले ?

संस्कृतमा सपथ ग्रहण गरेका स्वतन्त्र सांसदले किन रोजे एमाले ?

संस्कृत भाषामा सपथ ग्रहण गरेर चर्चामा आएका रौतहटका स्वतन्त्र सांसद किरण साह नेकपा एमालेमा प्रवेश गरेका छन् । रौतहट–२ बाट निर्वाचित साह आजै बिहान एमाले प्रवेश गरेका हुन।

अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर साह एमाले प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्न बालकोट पुगेका साहलाई एमाले अध्यक्ष ओलीले खादा र टीका लगाएर स्वागत गरेका छन् ।

साहले आफू यसअघि नै अनौपचारिक रुपमा एमाले प्रवेश गरिसकेको र आज त्यसैलाई औपचारिकता दिएको बताए । ‘अनौपचारिक रुपमा त म एमाले प्रवेश गरेको थिएँ । आज औपचारिक रूपमा प्रवेश गरेको हो,’ साहले भने, ‘एमाले अध्यक्ष र मेरो हस्ताक्षरसहितको सहमति हुन्छ।’

सांसद साहले धर्मान्तरण र धार्मिक अतिवादसम्बन्धी मुद्दा उठाउने गरेका छन् । ती विषयमा सहमति भएको उनको भनाइ छ । 

बोलिचालीमा खासै प्रयोग नआएपनि उनले हिन्दू सनातन धर्मको रक्षाका लागि संस्कृत भाषमा सपथ ग्रहण गरेका हुन। उनी भन्छन–‘विश्वमा पनि एउटा हिन्दू राष्ट्र भनेर चिनिने गरेको थियो। अहिले भने संस्कृत भाषाको बिदाइ नै गर्न लागेका छन्। तर यो भाषा धेरै भाषाको जननी हो। त्यसैले यो भाषाले राष्ट्रिय एकतालाई जोड्ने र मजबुत बनाउन सक्छ। त्यसैले यो भाषा लोप नहोस्, बरु उजागर होस् भनेर मैले संस्कृत भाषामा सपथ लिने निर्णय गरेको हो।’

उनले सम्पुर्ण नेपालीको शिर ठाडो हुनेगरी आफुले संस्कृतमा सपथ लिएको वताएका छन् । ‘नेपालमा संस्कृत भाषा एकदमै आवश्यक छ। किनकि, यहाँ ९६ प्रतिशत हिन्दू धर्मावलम्बी छन्। त्यसैले सम्पूर्ण नेपालीको शिर ठाडो हुने गरी मैले संस्कृतमा सपथ खाने निर्णय लिएको हुँ।’

यो पनि,

विशेष