News

पार्टी चाहार्दै हिडेका बाबुराम पुनः माओवादीसँग एकता गर्दै

पार्टी चाहार्दै हिडेका बाबुराम पुनः माओवादीसँग एकता गर्दै

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग असन्तुष्ट भएर पार्टी छोडेर विभिन्न पार्टी चाहार्दै हिडेका पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई पुनः माओवादीसँग पार्टी एकता गर्ने तयारीमा लागेका छन् ।

यस विषयमा छलफल गर्न बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टीको राजनीतिक समितिको बैठक पौष २४ गते बस्ने भएको छ। पार्टीको आगामी कार्यदिशा तथा समसामयिक राजनीतिक विषयमा छलफल तथा निर्णय गर्न बैठक बस्न लागेको बताइएको छ। 

काठमाडौंमा बस्ने बैठकमा नेपाल समाजवादी पार्टीको आगामी रणनीति, आवश्यक कार्ययोजना तथा समसामयिक राजनीतिक विषयमाथि बैठकमा छलफल हुने र केही महत्वपूर्ण निर्णय हुने पार्टीका प्रचार विभाग प्रमुख तथा राजनीतिक समिति सदस्य विश्वदीप पाण्डेले जानकारी दिए।

माओवादीसँगको एकताको विषयमा पार्टीको बैठकमा छलफल भएर नै निर्णय हुने एक नेताले वताए । पार्टी एकताका विषयमा नेसपा र माओवादीबीच विभिन्न तहमा छलफल जारी रहेको उनको भनाई छ।

उनले पार्टीभित्र अब समाजवादी धारको नेतृत्व गरेर अघि बढ्ने विषयमा छलफल भएको पनि बताए। ‘अब समाजवादी धारको नेतृत्व गरेर अगाडि बढ्ने बेला आएको छ। समाजवादी पक्षधरहरु अलग अलग हुनुभन्दा एकताबद्ध भएर अघि बढ्नु नै अहिलेको समयको माग हो,’उनले भने, ‘समाजवादी धारको नेतृत्व गरेर अगाडि बढ्ने कुरामा नेसपा र माओवादीबीच करिब–करिब सहमतिजस्तै छ। त्यसैले यसमा सहमति हुँदा एकताको बाटोमा हामी जान सक्छौं।’
 

विशेष