News

गाउँपालिका अध्यक्ष नै गाँजा तस्कर, साढे ३ वर्ष कैद

गाउँपालिका अध्यक्ष नै गाँजा तस्कर, साढे ३ वर्ष कैद

गाँजा तस्करीको आरोप लागेका बागलुङको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई साढे तीन वर्ष जेल सजाय भएको छ। घर्तीमाथि लागेको लागु्औषध गाँजा/चरेससम्बन्धी कसुर ०७९ पुस ३ गते प्रमाणित भएको थियो । 

बागलुङ जिल्ला अदालतका न्यायाधीश डा. दिवाकर भट्टको इजलाशले लागूपदार्थ कारोबारको अभियोगमा घर्तीलाई ३ वर्ष छ महिना कैदसहित ५० हजार जरिवाना फैसला गरेको हो। 

गाउँपालिकाको अघिल्लो कार्यकालमा निसीखोलाको वडा नम्बर ६ को अध्यक्ष रहेका घर्ती ०७७ साल असार १२ गते ८० किलो गाँजासहित आफ्नै घरबाट पक्राउ परेका थिए। बुर्तिबाङ बजारमा गाँजा खाने समूहलाई समातेपछि गाँजा आपूर्ति गर्ने व्यक्तिको खोजी गर्ने क्रममा प्रहरी घर्तिकहाँ पुगेको थियो।

इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीको नेतृत्वमा खटिएको टोलीले घर्तीलाई पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय बागलुङले अनुसन्धान गरी ०७७ भदौ ४ गते जिल्ला अदालत बागलुङमा लागुऔषध गाँजा÷चरेस नियन्त्रण ऐन, २०३३ सम्बन्धी मुद्दा दर्ता भएको थियो ।

फैसलाको पूर्णपाठ आउन बाँकी छ। घर्ती गत निर्वाचनमा निसीखोला गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका थिए। 

विशेष