News

एउटा निर्देशन कार्यान्वयन गर्न प्रधानमन्त्रीको अर्को निर्देशनः टेर्दैनन् कर्मचारी

एउटा निर्देशन कार्यान्वयन गर्न प्रधानमन्त्रीको अर्को निर्देशनः टेर्दैनन् कर्मचारी

विदेशबाट फर्किने नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ कार्यान्वयन नगर्न भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको निर्देशन कर्मचारीले अटेर गरेका छन्। एउटा निर्देशन कार्यान्वयन गर्न दोस्रो निर्देशन दिँदा समेत कर्मचारीको कार्यशैलीमा कुनै परिवर्तन देखिएको छैन।

प्रधानमन्त्री दाहालले पुस १५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट फर्किने नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ कार्यान्वयन नगर्न निर्देशन दिए । तर, प्रधानमन्त्रीको निर्देशनपछि पनि मोबाइलमा गरिएको कडाइ हटेन। त्यसको ३ दिनपछि अमेरिकाबाट फर्केका डीएल नेम्बाङले ल्याएको थप एकथान मोबाइल त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जफत गर्यो।

तर, त्रिभुवन विमानस्थलको प्रमुख भन्सार प्रशासक अरुण पोखरेलले थप एकथान मोबाइल जफत नगरिएको दाबी गरेका छन् । तथापी गुनासो आएपछि प्रधानमन्त्री दाहालले अर्थमन्त्री विष्णु पौडेल र अर्थसचिवलाई बोलाएर आफुले दिएको निर्देशन कार्यान्वयनमा नआएको विषयमा  जिज्ञासा राखे। उनले कानुनी समस्या भए सुधार गर्दै जान सकिने तर, निर्देशनको कार्यान्वयन भने तत्कालै गर्न अर्को निर्देशन जारी गरे। तर, विमानस्थल कर्मचारीले त्यसको कार्यान्वयन गरेका छैनन्।

अर्थ मन्त्रालयले २०७७ जेठ १५ मा गरेको निर्णय अनुसार व्यक्तिगत प्रयोगको मोबाइल १ वटा सम्म ल्याउन पाइन्छ । त्यसभन्दा बढी मोबाइल ल्याएमा भन्सार महसुल लाग्छ । तर, भन्सारका कर्मचारीले थप मोबाइल जफत गर्ने गरेको गुनासो छ ।

प्रधानमन्त्रीले निर्देश गरेपछि ०७७ जेठ १५ मा जारी आदेश संशोधन नहुँदा समस्या भएको प्रमुख भन्सार प्रशासक पोखरेल बताउँछन्। दूरसञ्चार प्राधिकरणको आग्रहमा विदेशबाट फर्किने नेपालीले ल्याएको थप एकथान मोबाइलको भन्सारले प्रज्ञापन पत्र जारी गर्न थालेको थियो । तर, प्रधानमन्त्रीले ‘एमडीएमएस तत्काल लागु नगर्नु’ भनेपछि प्रज्ञापन पत्र दिन छाडेको प्रमुख भन्सार प्रशासक पोखरेलले बताए ।

जानकारहरुका अनुसार मोबाइल कारोबार गर्नेहरूले भरिया बनाएर विदेशबाट फर्किने नेपालीहरूलाई पठाएर नेपाली बजारमा बेच्ने गरेका छन् । 
 

विशेष