News

पाँचथरको घुमाउनेटारमा आगोमा जलेर २ जनाको मृत्यु

पाँचथरको घुमाउनेटारमा आगोमा जलेर २ जनाको मृत्यु

पाँचथरमा आगोमा जलेर दुई जनाको मृत्यु भएको छ। फिदिम नगरपालिका–८ घुमाउनेटारको एक घरमा लागेको आगोमा जलेर उनिहरुको मृत्यु भएको हो।

गएराति साढे १ बजे मेखबहादुर गुरुङको घरमा आगलागी भएको थियो। आगलागीमा परी मेखबहादुरका २२ वर्षीया छोरी ममता गुरुङ र २३ वर्षीया बुहारी आसाङसिंह थेबेको मृत्यु भएको हो।

आगोमा जलेर ५५ वर्षीय मेखबहादुर गुरुङ र उनका छोरा विजेन्द्र घाइते छन् । उनीहरुको अवस्था सामान्य छ । उनीहरुको टाउको, हात र खुट्टामा आगोले पोलेको छ ।

उक्त घरमा ७ जना सुतेकोमा २ जनाको मृत्यु भएको, दुई जना घाइते भएको र तीन जना भागेर ज्यान जोगाउन सफल भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका डिएसपी हरि खतिवडाले जानकारी दिए ।

आगो लागेर टिनको छानो भएको तीन तले घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ । आगलागीको कारण खुलेको छैन ।

आगो लागेको जानकारी १ बजेर ५५ मिनेटमा पाउनासाथ अस्थायी प्रहरी चौकी तमाखे रानीटारबाट प्रहरी सहायक निरीक्षक रोशन श्रेष्ठको कमाण्डमा ५ जनाको टोली गएको थियो । राति साढे १ बजे लागेको आगो बिहान सवा ४ बजे पूर्णरूपमा नियन्त्रणमा लिइएको थियो ।

विशेष