News

एमालेप्रति किन नरम भईन झाँक्री, बास्कोटाले गरे कटाक्ष

एमालेप्रति किन नरम भईन झाँक्री, बास्कोटाले गरे कटाक्ष

नेकपा एमालेका सांसद गोकुल बास्कोटाले एकीकृत समाजवादीका नेताहरूलाई एमालेमा आएर सदस्यता नवीकरण गर्न आग्रह गरेका छन्। उनले अहिलेको परिप्रेक्षमा पार्टीको एकताको विधि नै आफ्नो सदस्यता नवीकरण गर्नु भएको बताएका छन्।

‘समाजवादीका पार्टी सदस्यले लम्बेचौंडे कुरै गर्नु पर्दैन । जसलाई एमालेमा रहन मन छ उसले खुरुखुरु सदस्यता नवीकरण गरे भइहाल्छ’ बास्कोटाले फेसबुकमा लेखेका छन्–‘अहिलेको परिप्रेक्ष त्यै हो पार्टी एकताको सजिलो विधि।’

उनले नेकपा एसकी सचिव रामकुमारी झाँक्रीलाई पार्टीबाट कारबाहीमा पर्न सक्ने भएकाले सचेत रहन आग्रह गरेका छन्। शनिवारदेखि बसेको स्थायी कमिटी र पोलिटब्यूरो बैठकमा झाँक्रीसहित केहीमाथि कारबाही गर्नुपर्ने आवाज उठेको थियो।

‘रामकुमारी झाँक्रीले पनि तानेरै ल्याउन चैँ नखोज्नु नि ! व्यर्थै कारबाहीमा परिएला है’ उनले झाँक्रीलाई सुझाएका छन्। निर्वाचनबाट नेकपा एस राष्ट्रिय पार्टी बन्न नसकेपछि झाँक्री एमालेप्रति नरम छिन्।

झाँक्रीले हालै एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गरेर दिएको टिभी अन्तर्वार्ताको प्रसङ्गसमेत हिजोको बैठकका निस्किएको थियो। एमालेबाट अलग हुने बेलामा झाँक्री माधव नेपाललाई हातमा डोर्याएर निर्वाचन आयोगमा पार्टी दर्ताका लागि गएकी थिइन्।

पार्टीभित्र असन्तुष्ट भएपछि फेरि एमालेमा पनि तानेरै सबैलाई ल्याउन नखोज्नु भन्दै बास्कोटाले कटाक्ष गरेका छन्।
 

विशेष