News

प्रदेश सांसद जयसवालका चालक सलिम मियाँ अन्सारी पक्राउ

प्रदेश सांसद जयसवालका चालक सलिम मियाँ अन्सारी पक्राउ

वन्यजन्तु चोरी शिकारीको घटनामा संलग्न भएका आरोपमा सांसद प्रमोदकुमार जयसवालका चालक सलिम मियाँ अन्सारी पक्राउ परेका छन् । उनलाई पर्सा राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको हो।

निकुञ्ज आडमै रहेको प्रदेश सांसद जयसवालको घरबाट गत पुस ४ गते सखुवा प्रसौनी– १ का ३७ वर्षीय झापस दास थारु, ४४ वर्षीय विशाल सहनी, काभ्रे सांगा ६ का ५० वर्षीय दामोदर अधिकारी, धादिङ गंगाजमुना २ का ५२ वर्षीय म्लाङ दोङ तामाङलाई मृत हरिणसहित अवैध हातहतियारसहित नियन्त्रणमा लिएको थियो ।

अवैध रुपमा शिकार गरेर मारिएको जरायो बोक्न प्रदेश २ ०३००१ च ३०९७ नम्बरको सेतो जिप प्रयोग भएको थियो । सोही गाडीमा रहेका तस्करहरुले निकुञ्जका सुरक्षाकर्मीलाई लक्षित गरेर गोली हानेर भागेका थिए । जवाफी फायरिङमा उक्त गाडीको टायरमा गोली लागेपछि जंगल आडैमा रहेको सखुवा प्रसौनी गाउँपालिका–१ स्थित अकुनिया गाउँमा गाडी रोकेर भागेका थिए ।

उनीहरू गाडीलाई बीच बाटोमै छाडेर अवैध तस्करीमा सेल्टरको रुपमा प्रयोग हुँदै आएको सांसद जयसवालको घर गएका थिए । त्यहाँबाट हतियारसहित जरायोको सिंहसहितको टाउको बरादम भएको थियो ।

सांसद जयसवाल बयान दिन निकुञ्ज कार्यालय आएको बेला चालक मियाँलाई नियन्त्रणमा लिइएको हो। सांसद जयसवालसहित उनका भाइ एवं सखुवा प्रसौनीका पूर्व गाउँपालिका अध्यक्ष प्रदीप जयसवालले पनि बयान दिएका छन् ।

तस्करीमा प्रयोग भएको बन्दुक वाग्मती प्रदेशअन्तर्गत काठमाडौं क्षेत्र नम्बर ५(२)का सांसद श्याम खड्काको भएको खुलेको छ। 
 

विशेष