News खेल

साउदीको क्लबमा आबद्ध भएका रोनाल्डोलाई डेब्यु खेलनै प्रतिबन्ध

साउदीको क्लबमा आबद्ध भएका रोनाल्डोलाई डेब्यु खेलनै प्रतिबन्ध

खेलकुद इतिहाँसमै सवैभन्दा वढि तलव लिएर साउदी अरेबियन टोली अल नासर क्लबसँग आबद्ध भएका पोर्चुगलका स्टार फुटबलर ३७ वर्षीय क्रिस्टियानो रोनाल्डोले डेब्यु खेलनै खेल्न नपाउने भएका छन् ।

बिहीबारका लागि निर्धारित खेलमा उनले डेब्यु गर्न नपाउने भएका हुन। गत अप्रिलमा एभर्टनसँग म्यानचेस्टर युनाइटेडको १–० ले पराजित भएपछि पोर्चुगिज स्टारलाई एफएले गरेको अनुशासनात्मक कारबाहीका कारण दुई खेलको प्रतिबन्ध लगाइएको छ।

साउदी प्रो लिगअन्तर्गत मिसूल पार्कमा अल ताइविरुद्ध आफ्नो पहिलो खेल खेल्न तयार रहेका ३७ वर्षीय रोनाल्डोलाइ प्रतिबन्धको जानकारी दिइएको हो।

नोभेम्बरमा, रोनाल्डोलाई इङ्लिस एफएले अनुचित र हिंसात्मक आचरणमा दोषी ठहर गरेको थियो। त्यो समयमा एभर्टनसँगको हारपछि उनले एक किशोर प्रशंसकको फोन तोडफोड गरेकोमा दुई खेलका लागि निलम्बन गरिएको थियो।

भिडिओ फुटेजमा रोनाल्डोले किशोरको हातबाट फोन झिकेर भुइँमा चकनाचुर गर्दै खेल सकिएपछि सुरुङबाट तल झरेको देखाइएको छ। उनलाई प्रतिबन्धसँगै ५० हजार पाउन्ड जरिवाना गरिएको थियो।

तर युनाइटेडसँगको उनको सम्झौता खारेज भइसकेको अवस्थामा उनी निलम्बनमा पर्ने कुरै भएन। रोनाल्डो नयाँ क्लबमा आबद्ध हुँदा प्रतिबन्ध लागू हुनेछ। रोनाल्डोले अब साउदी प्रो लिगमा दुई खेलको प्रतिबन्ध भोग्नुपर्नेछ र अल–ताई र अल–शबाबविरुद्धको अर्को दुई खेलबाट बाहिर बस्नुपर्नेछ।

रोनाल्डो वार्षिक १७ दशमलव ७ करोड पाउन्ड तलव पाउने गरी साउदी अरेबियन टोली अल नासर क्लबसँग आबद्ध भएका छन्।
 

विशेष