News

प्रधानमन्त्रीको अर्को निर्देशनः घट्ला त पेट्रोलियम पदार्थको मुल्य ?

प्रधानमन्त्रीको अर्को निर्देशनः घट्ला त पेट्रोलियम पदार्थको मुल्य ?

प्रधानमन्त्री पुष्पकमल दाहालले पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन निर्देशन दिएका छन्। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री समेत रहेका उनले वाणिज्य तथा आपूर्ति सचिवलाई मूल्य घटाउन निर्देशन दिएका हुन्। 

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोहीबमोजिम मूल्य समायोजन गरी मूल्य कटौती गर्न प्रधानमन्त्रीले निर्देशन दिएको जनाईएको छ। ‘प्रधानमन्त्रीले आज मन्त्रिपरिषद् बैठकलगत्तै वाणिज्य तथा आपूर्तिसचिवलाई मन्त्रालयमै बोलाएर पेट्रोलियम पदार्थको उच्च मूल्यका कारण उपभोक्तालाई मार परेकाले घटाउन निर्देशन दिनुभएको छ’, स्रोतले भन्यो, ‘आजै आयल निगमले यसबारे केही निर्णय गर्ला।’ 

आपूर्ति सचिव नेपाल आयल निगमको अध्यक्ष रहने व्यवस्था छ। निगमको पछिल्लो विवरण अनुसार १५ दिनमा ९९ करोड नाफा हुने देखिएको छ। निगमले १८ अर्ब बराबरको रकम तिर्नुपर्ने दायित्व रहेको भन्दै मूल्य घटाउन तयार भएको छैन। चौतर्फी रुपमा मूल्य घटाउन निगमलाई दबाब परे पनि अस्वीकार गर्दै आएको छ। लगातार अन्तर्राष्ट्रिय बजारमा मूल्य ओरालो लागे पनि दायित्व बाँकी रहेको भन्दै मूल्य घटाउन निगम तयार नभएपछि प्रधानमन्त्रीले नै निर्देशन दिनुपरेको हो। 

पछिल्लो समय नेपाल आयल निगमलाई खाना पकाउने एलपी ग्यासबाहेक सबै पेट्रोलियम पदार्थमा नाफा छ। अन्तर्राष्ट्रियस्तरमा मूल्यमा गिरावट आएको कारण निगमलाई मासिक एक अर्बभन्दा बढी नाफा रहेको छ। 

हवाइ इन्धन र मट्टितेलमा कानुनभन्दा बढी नाफा समेत निगमले लिइरहेको छ। यो व्यवस्थामा प्रधानमन्त्रीले निगमको बोर्ड प्रमुख समेत रहेका सचिवलाई निर्देशन दिएका हुन्। 

विशेष