News

प्रचण्डलाई सत्ताच्युत गर्न कांग्रेस नेताको दौडधुपः लिङदेन र उपेन्द्र छलफलमा

प्रचण्डलाई सत्ताच्युत गर्न कांग्रेस नेताको दौडधुपः लिङदेन र उपेन्द्र छलफलमा

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केही नेताहरु प्रधानमन्त्री पुष्पकमल दाहाललाई सत्ताच्युत गराउन प्रयास थालेका छन्। उनिहरुले एमाले–माओवादी इतरको गठबन्धन बनाउने प्रयास थालेका हुन् ।

राप्रपाले साथ दिएको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत नपाउने र नयाँ समीकरण बन्नसक्ने सम्भावना छ। यसका लागि कांग्रेस सभापति देउवाले राप्रपालाई प्रधानमन्त्रीको आफर पनि गरिसकेका छन् ।

पुस १० मा प्रधानमन्त्री नियुक्त भएका दाहालले २६ पुसमा विश्वासको मत लिने भएका छन्। तर, कतिपय कांग्रेसका नेताहरुले दाहाललाई विश्वासको मत पाउनबाट रोक्न प्रयास थालेका छन् । एक नेताका अनुसार प्रधानमन्त्री दाहालले शपथ लिएकै दिन पुस ११ मा कांग्रेसका केही केन्द्रीय सदस्यहरुबीच लोकतान्त्रिक शक्तिहरुलाई एक ठाउँमा ल्याउन पहल गर्ने छलफल भएको थियो ।

त्यही छलफलका क्रममा गैरवामपन्थी सरकार बन्न सक्ने हिसाब देखाएपछि नेताहरुले त्यो सन्देश देउवासम्म पनि पुर्याएका छन् । यो विषयमा खास गरी संस्थापन पक्षका दोस्रो तहका नेताहरुले रुचि दिएका छन् । उनीहरुले साना दलका नेताहरुसँग सम्वाद थालेको जनाईएको छ । त्यसक्रममा बिहीबार कांग्रेस सभापति देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । देउवा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच संवाद भएको कांग्रेस सम्वद्ध स्रोतको दाबी छ । लिङ्देन निकटवर्तीहरु भने यसलाई स्वीकार गर्दैनन् ।

अहिलेको प्रतिनिधिसभामा एमालेका ७९, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २० र जनमत पार्टीका ६ सांसद छन् । सबैले मत दिए १३७ हुन्छ । स्वतन्त्र सांसदद्वय प्रभु साह र अमरेशकुमार सिंहले साथ दिनासाथ दाहालले विश्वासको मत पाउने अवस्था छ ।

स्रोतका अनुुसार नयाँ गठबन्धन बनाउने प्रयासमा एकीकृत समाजवादीका नेताहरु सकारात्मक छन् । सरकारमै गएको जनमत र प्रधानमन्त्रीमा दाबी पेश गर्दा समर्थन जनाएको नागरिक उन्मुक्तिलाई आफूतिर ल्याउन सकिने नयाँ गठबन्धन बनाउन लागेका कांग्रेस नेताहरुको विश्वासमा छन् । यो अवस्थामा राप्रपाले मात्र साथ दियो भने पनि दाहालले विश्वासको मत पाउने छैनन् ।

पुस २७ लाई सार्वजनिक बिदा दिने लगायतका माग पूरा भए सरकारमै जाने राप्रपा नेताहरुको तयारी छ । एमाले–गठबन्धनतिर जान नदिन राप्रपालाई प्रधानमन्त्री दिनु परे पनि तयार हुनुपर्ने कांग्रेसका कतिपय नेताहरु बताउँछन् ।

यद्यपी यो सहज छैन । किनकि माओवादी केन्द्रका अध्यक्ष दाहाल संविधानको धारा ७६(२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री बनेका हुन् । यदि उनले विश्वासको मत पाएनन् भने नयाँ सरकार गठन संविधानको धारा ७६(३) अनुसार हुन्छ । यसअनुसार प्रतिनिधिसभाको सबभन्दा ठूलो दल कांग्रेसका सभापति शेरबहादुर देउवा स्वतः प्रधानमन्त्री नियुक्ति हुनेछन् । त्यसैले २०५२÷५३ मा जस्तो राप्रपालाई प्रधानमन्त्री बनाउन कांग्रेस तयार भयो र संसदमा बहुमत जुट्यो भने पनि ७६(३) को प्रक्रिया पुरा गरेर ७६(४) मा जानुपर्ने हुन्छ ।

अर्को विकल्प भनेको २६ पुसमा प्रधानमन्त्री दाहालले विश्वासको मत पाउने, राप्रपा सरकारमा जाने र निश्चित समयपछि समर्थन फिर्ता लिने बाटो राज्नुपर्ने हुन्छ । यो बेलामा दाहालले विश्वासको मत नपाए ७६(२) अनुसार नयाँ सरकार गठनको प्रक्रिया हुनसक्छ । त्यो बेला पनि संसदको अंक गणितमा भर पर्छ । त्यसैले आफ्नै पार्टीका केही नेताहरुको ‘रहर’ गर्दैमा राप्रपा प्रयोग हुने सम्भावना कम देखेको कांग्रेसका एक पदाधिकारी बताउँछन् ।

यो पनि,

विशेष