News

राष्ट्रपतिको रेसमा भण्डारी निकट डोरमणीको इन्ट्री, पार्टीमा तरङ्ग 

राष्ट्रपतिको रेसमा भण्डारी निकट डोरमणीको इन्ट्री, पार्टीमा तरङ्ग 

नेकपा एमालेको नेतृत्वमा नयाँ राजनीतिक समिकरण बनेसँगै भागवण्डा राजनीति पनि तिव्र रुपमा वढिरहेको छ। नयाँ गठबन्धनको नेतृत्व गरेको एमाले संसदको दोस्रो र गठबन्धनको पहिलो दल हो। 

३२ सिट रहेको माओवादीलाई प्रधानमन्त्रीको चावी बुझाएको एमालेले देशको सबैभन्दा ठुलो पद राष्ट्रपति पाउने निश्चित छ। तर, एमालेले कसलाई राष्ट्रपति बनाउला? भन्ने विषय अहिलेसम्म टुङ्गो लागेको छैन। 

राष्ट्रपतिमा ईश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङ, अष्टलक्ष्मी शाक्य लगायतका नाम चर्चामा छ। तर, बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको नाम पनि राष्ट्रपति बन्न सक्ने दावेदारको रुपमा चर्चामा आएको छ। 

पौडेललाई राष्ट्रपतिको रुपमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले अघि सारेको बताइएको छ। भण्डारीनिकट पौडेल यसअघि ०७४ मा पनि उनकै कारण अप्रत्याशित रुपमा प्रदेशको मुख्यमन्त्री बनेका थिए। साढे ३ वर्ष बागमती प्रदेश सरकारको नेतृत्व गरेका पौडेल मकवानपुरका हुन्।

माघको अन्तिमसम्म राष्ट्रपतिको निर्वाचन गरिसक्नु पर्ने हुँदा राष्ट्रपतिको टिकट फुत्क्याउन एमालेका नेताहरुको भागदौड चलिरहेको बेलामा डोरमणिको ईन्ट्रिले अर्को तरंग ल्याएको छ। एमाले अध्यक्ष ओलीको प्रिय पात्र पूर्वसभामुख नेम्वाङ एमालेबाट राष्ट्रपतिको मुख्य दावेदारको रुपमा देखिएका छन्।  शालिन नेताको छवि बनाएका नेम्वाङ राष्ट्रपतिको बलिया दावेदार भएपनि उनी राष्ट्रपति बन्ने सम्भावना पनि पुर्ण रुपमा देखिदैन। 

उनी ४ मंसिरमा भएको निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। नेम्वाङ राष्ट्रपति बन्दा उनले प्रतिनिधिसभा सदस्य पद त्याग्नुपर्ने हुन्छ। यसो हुँदा संसदमा एमालेले एक सिट गुमाउछ। 

त्यसैले एमालेभित्रकै एक पक्षले नेम्वाङलाई राजिनामा गराएर एक सिट घटाउनु नहुने तर्क गरिरहेका छन्। अर्का दावेर वरिष्ठ उपाध्यक्ष पोखरेलको नाममा सर्वसम्मत रुपमा सहमति जुट्न नसक्ने एमालेकै नेताहरु बताउँछन् भने शाक्यलाई अध्यक्ष ओलीले पूर्ण रुपमा विश्वास गर्दैनन्। 

त्यसैले पनि पौडेल दौडमा आगाडि आउन सक्ने अनुमान छ। ०७४ मा पनि पौडेल भण्डारीकै कारण मुख्यमन्त्री बनेका थिए। पौडेल आफूले नै अपेक्षा नगरेको अवस्थामा संसदीय दलको नेता हुँदै बागमती प्रदेशको मुख्यमन्त्री बनेका थिए।

वर्तमान राष्ट्रपति भण्डारी र एमाले उपाध्यक्ष शाक्यबीच पुरानो दुस्मनी छ। धेरै वर्ष पहिलेबाट एउटै पार्टीमा भए पनि उनीहरुको सम्बन्ध राम्रो थिएन। त्यसैले शाक्यलाई राष्ट्रपति बनाउनुपर्ने अवस्था आए पौडेललाई सो अवसर दिने पक्षमा भण्डारी छिन्। पौडेलप्रति ओलीमा रहेको सकारात्मक भावनाकै कारण राष्ट्रपति पदका सन्दर्भमा ओलीले पौडेलसँग संवाद पनि गरिसकेको एमाले स्रोतको दाबी छ। 

अहिलेको गठबन्धनमा भएको सहमति कार्यान्वयन भएमा ओली साढे दुई वर्षपछि प्रधानमन्त्री बन्नेछन्। त्यतिबेला उनलाई काम गर्न उनको कुरालाई ‘एसम्यान’ गर्ने राष्ट्रपति आवश्यक पर्छ। त्यसैले पनि ओली आफूले भनेको कुरालाई सहजै मान्ने ‘एसम्यान’ लाई राष्ट्रपति बनाउन चाहान्छन्।

पौडेल २०४८ र २०५४ सालमा तत्कालिन हेटौंडा नगरपालिकाको प्रमुख निर्वाचित भएका थिए।  राज्य पुनर्संरचना उच्चस्तरीय सुझाव आयोगमा सदस्य भएर समेत काम गरिसकेका पौडेल अन्तर्राष्ट्रिय संस्था यूसीएलजीको उपाध्यक्ष पनि थिए।

मकवानपुर–२ को (ख) प्रदेशसभामा निर्वाचित हुँदै बागमती प्रदेशको पहिलो मुख्यमन्त्री बनेका थिए। २०३६ सालदेखि पूर्णकालिन राजनीतिमा सक्रिय रहेका उनले २०३२ सालदेखि १० बर्ष शिक्षण गरेका थिए । पञ्चायती कालमा लामो समय अर्धभूमिगत जीवन बिताएका पौडेलले २०४६ सालको जनआन्दोलन ताका तत्कालिन सरकारले टाउकोको मूल्य तोकेपछि ५६ दिन भारतमा बिताएका थिए।
 

विशेष