News

निर्मला पन्तको हत्या प्रकरणमा कसरी जोडिए भारतीय नागरिक ?

निर्मला पन्तको हत्या प्रकरणमा कसरी जोडिए भारतीय नागरिक ?

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीको अनुशन्धान भारतीय नागरिकतिर सोझिएको छ। घट्नाको दिन आसपासमै देखिएका दुई भारतीय किशोर पक्राउ परेका छन्।

उनीहरूलाई नियन्त्रणमा लिई प्रहरीले सोधपुछ तथा डिएनए परीक्षण प्रक्रिया अघि बढाएको छ । घटनाको अनुसन्धानका लागि गत साता डिआइजी दुर्गा सिंहको नेतृत्वमा नयाँ टोली गठन गरिएको थियो । टोली हाल कञ्चनपुरमै छ ।  

०७५ साउन १० गते हराएकी निर्मलाको ११ गते शव भेटिएको थियो। पोस्टमार्टममा उनको बलात्कारपछि हत्या भएको पुष्टि भएको थियो । साथीको घरबाट फर्कंदै गर्दा उनको हत्या भएको थियो ।

निर्मलाको हत्या भएको २५ दिनपछि प्रहरीले दिलिपसिंह विष्टलाई पक्राउ गरेपनि ०७५ भदौ २६ मा जिल्ला अदाललते संलग्नता पुष्टि गर्ने आधार नभएको र डीएनए म्याच नभएको भन्दै विष्टलाई साधारण तारेखमा रिहा गर्न आदेश गरेको थियो ।

त्यसयता अनेक अनुसन्धान समिति बनेपनि घटना सुल्झन सकेको छैन । घटनापछिको साढे ४ वर्षको अवधिमा सईदेखि डीआईजीसम्म ७७ जना अनुसन्धान अधिकृतले यो हत्याको अनुसन्धान गरिसकेका छन् । ४ गृहमन्त्री र ४ आईजीपी फेरिएका छन्। हरेक गृहमन्त्रीले यो घटना आफ्नो प्राथमिकतामा रहेको बताउने गरेका छन्। 

राष्ट्रिय मानव अधिकार आयोग र सरकारले गठन गरेको विज्ञ समितिले डिएनएको नमुना संकलनमै त्रुटि भएकाले डिएनए परीक्षणबाट अभियुक्त पत्ता लगाउन कठिन हुने औँल्याएको थियो । यद्यपि, प्रहरीले भने अहिलेसम्म शंकास्पदको डिएनए परीक्षण गराउँदै आएको छ ।

तर हालसम्म घट्नाको चित्त वुझदो उत्तर कसैले दिन सकेका छैनन्। अहिले घटनालाई निचोडमा पुर्याउन भन्दै गठन गरिएको सिंह नेतृत्वको टोलीमा चिकित्सक समेत छन्। 

निर्मला पन्त

विशेष