News

प्रचण्डका ज्वाईले लथालिङ्ग पारे प्रदेश १ को सरकार गठन प्रकृया

प्रचण्डका ज्वाईले लथालिङ्ग पारे प्रदेश १ को सरकार गठन प्रकृया

नेकपा माओवादी केन्द्रभित्र मन्त्रीको विषयमा विवाद बढेपछि प्रदेश १ सरकार गठनमा समस्या देखिएको छ। प्रदेश १ मा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच तालमेल गरेर सरकार गठनको तयारी छ।

तर, माओवादी भित्रको विवादका कारण सरकार गठनमा समस्या देखिएको छ। मोरङ–६ को प्रदेश निर्वाचन क्षेत्र १ बाट निर्वाचित प्रदेशसभा सदस्य तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालका ज्वाई जीवन आचार्यले सरकार गठन प्रक्रिया सुरु नहुँदै मन्त्री पद दाबी गरेका छन्।

यसले पार्टी संगठनमा लामो समय काम गरेका सांसद गणेश उप्रेती ‘सुशील’ मन्त्रिपरिदमा नअटाउने देखिएको माओवादीका एक नेताले बताए। १३ मन्त्रालय रहेको प्रदेशमा माओवादीको भागमा चारवटा पर्ने सम्भावना छ। 

माओवादीले यसअघि पार्टीले निर्माण गरेको सांगठानिक संरचनाको लिम्बुवान, किरात र कोचिला राज्यबाट सन्तुलन मिलाएर सरकारमा पठाउने तयारी गरिरहेको छ। लिम्बुवानबाट दुर्गाप्रसाद चापागाईं र किरातबाट राजेन्द्र कार्कीले मन्त्री दाबी गरेका छन्। उदयपुरका नारायणबहादुर मगर र मोरङका गणेश उप्रेती पनि मुख्य दाबेदार हुन्।

दाबेदारमा आचार्य पनि थपिएपछि विवाद चर्किएको नेताहरूले बताएका छन्। माओवादीले झापा, मोरङ र सुनसरीलाई ‘कोचिला राज्य’ भन्ने गरेको थियो। मोरङबाटै दुईजना मन्त्री बन्ने लाइनमा आएपछि विवाद बढ्दै गएको हो। 

आचार्य कुनै हालतमा मन्त्री पद नछाड्ने भन्दै केन्द्रमा लबिङ तीव्र बनाएका छन्। यसबाट प्रदेशस्तरको माओवादीमा असन्तुष्टि चुलिएको हो। उप्रेती माओवादीको द्वन्द्वकालदेखि नै सक्रिय नेता हुन्। पार्टी आन्दोलनका क्रममा उनले दुई वर्ष जेल जीवन पनि बिताएका थिए। 

मोरङ २ (१) बाट निर्वाचित भएका उनी मन्त्रीको दौडमा छन्। तर, आचार्यले दाबी गरेसँगै पार्टीको साविक कोचिला प्रदेशको कोटाबाट उनको नाम नपर्ने देखिएको छ। एकै क्षेत्रबाट मन्त्री बनाउँदा भूगोल नसमेटिने भएपछि आचार्यले दाबी गर्न नहुने मतसमेत पार्टीमा बढेको हो।

आचार्य भने दाहालकी कान्छी छोरी गंगा दाहालसँग विवाह गरेपछि मात्रै पार्टीसँग नजिकिएका हुन्। गंगाको पहिलो श्रीमानसँग सम्बन्धविच्छेद भएपछि जीवनको विवाह भएको हो। उनलाई दाहालको ज्वाईं भएकै कारण २०७४ सालमा पार्टीको कुनै जिम्मेवारीमा नभए पनि मोरङ क्षेत्र नम्बर ६ प्रदेश निर्वाचन क्षेत्र २ बाट उमेदवार बनाइएको थियो।

उक्त चुनावमा पराजित बनेपछि आचार्य पहुँचकै आधारमा ०७५ मा एकैपटक प्रदेश कमिटी सदस्य बने। माओवादीको गत महाधिवेशनपछि उनलाई सोझै केन्द्रीय सदस्य बनाइएको छ। दोस्रोपटक प्रदेशसभा सदस्य उमेदवार बनेर उनी विजयी भएका हुन्।
 

विशेष