News

पुस २७ गते पृथ्वी जयन्तीको दिन सार्वजनिक विदा

पुस २७ गते पृथ्वी जयन्तीको दिन सार्वजनिक विदा

सरकारले पुस २७ गते पृथ्वी जयन्तीको दिन सार्वजनिक विदा दिने भएको छ। औपचारिक निर्णय नगरेपनि अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलले मस्यौदा गरेको न्यूनतम साझा कार्यक्रमको मस्यौदामा पृथ्वी जयन्तीमा बिदा दिने उल्लेख छ।

यसलाई शीर्ष नेताहरूले आधिकारिकता दिन बाँकी छ। सत्ता गठबन्धनले शुक्रबार सार्वजनिक गरेको मस्यौदाको पृष्ट ११ मा ‘पर्यटन संस्कृति सामाजिक सद्भाव र राष्ट्रिय एकता’ शीर्षकमा ‘नेपालको भौगोलिक एकीकरणको ऐतिहासिकतालाई स्मरण र सम्मान गर्दै पृथ्वी जयन्तीको दिन पुस २७ गते सार्वजनिक बिदा दिने’ उल्लेख छ।

मस्यौदालाई शनिबार शीर्ष नेताहरूको बैठकले आधिकारिकता दिएपछि सार्वजनिक गरिनेछ। सत्तारुढ गठबन्धनमा रहेको राप्रपाले सरकारमा जान राखेको शर्तमध्ये ‘पृथ्वी जयन्तीमा विदा दिनुपर्ने’ पनि उल्लेख थियो।

राजतन्त्र छँदा पुस २७ लाई राष्ट्रिय एकता दिवसको रूपमा सार्वजनिक बिदा दिने गरिएको थियो। राजतन्त्र ढलेसँगै बिदा कटौती गरिएपनि ०७४ सालमा पृथ्वी जयन्तीका दिन राष्ट्रिय पर्वका रूपमा सार्वजनिक बिदा दिइएको थियो।

शेरबहादुर देउवा प्रधानमन्त्री रहेका वेला तत्कालीन परराष्ट्रमन्त्री कमल थापाको पहलमा बिदा दिइएको हो।

यता, एमाले नेता तथा सांसद गोकुल बास्कोटाले पुस २७ गते पृथ्वी जयन्ती बिदा दिन माग गरेका छन् । सामाजिक संजालमा आफ्नो प्रस्ताव राख्दै बास्कोटाले नेपाल एकीकरणका आरम्भकर्ता पृथ्वीनारायणलाई सम्मान गर्दा राजतन्त्र नफर्कने भन्दै बिदाको माग गरेका हुन् ।

उनले सामाजिक संजाल ट्विटरमा लेखेका छन्, ‘पृथ्वीजयन्ती पुष २७ मा राष्ट्रिय विदा दिने कुरा चल्दै गरेको र राप्रपाले माग गरेको सुनियो। त्यो सरकारले दिए हुन्छ। यहाँ उस्तै परे फेवररी १४(भ्यालेन्टाइन डे) मा त बिदा पाउनै पर्छ भन्ने ग्रुप तयार भैराछ। उनी त नेपाल एकिकरणका आरम्भकर्ता हुन, उनलाई सम्मान दिदैंमा राजतन्त्र फर्कने होईन।’

त्यसो त गोकुल बास्कोटा सञ्चारमन्त्री भएका बेला सरकारले निर्णय नगरे पनि पृथ्वी जयन्ती मनाएका थिए । उनले सरकारको प्रवक्ताको हैसियतमै नेपाल प्रज्ञा प्रतिष्ठानमा पृथ्वी जयन्ती समारोहको नेतृत्व गरेर झाँकीसहितको प्रदर्शनीमै भाग लिएका थिए । 

विशेष