News

के छायाँ सरकारको तयारी गर्दैछ नेपाली कांग्रेस ?

के छायाँ सरकारको तयारी गर्दैछ नेपाली कांग्रेस ?

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनबाट पहिलो पार्टी बने पनि गठबन्धनमा भंग भएर संघ र प्रदेश दुवैतिरका सरकारबाट बाहिरिएको नेपाली कांग्रेसले भावी रणनीति बनाउन संसदीय दलको बैठक बसिरहेको छ ।

पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा जारी बैठकमा प्रधानमन्त्रीलाई विश्वासको मत दिने नदिनेबारे छलफल भइरहेको एक सांसदले बताए।  देउवा संसदीय दलको नेतामा निर्वाचित भएपछि आज पहिलोपटक बैठक बोलाइएको हो। दिउँसो एक बजेलाई बोलाइएको बैठकमा देउवा आफैँ एक घण्टा ढिलो पुगेका थिए।

संसदीय दलको बैठकले आगामी रणनीति बारे थप धारणा तय गर्नेछ । यसअघि कांग्रेस सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवा निवास धुम्बाराहीमा पदाधिकारीबीच छलफल भएको थियो ।

प्रतिनिधि सभाको नयाँ कार्यकालको बैठक यही पुस २५ गतेदेखि सुरु हुँदैछ। संसद बैठकअघि कांग्रेस संसदीय दलको बैठक बसेको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते संसदमा विश्वासको मत लिने तयारी छ।

बैठकमा प्रतिनिधि सभा र राष्ट्रियसभाका सदस्यहरू सहभागी छन् । कांग्रेसले यसअघि अभ्यास गरेको छाया सरकारबारे आजै छलफल नहुने उपसभापति पूर्णबहादुर खड्काले बताए । यो बैठक आसन्न प्रतिनिधि सभा बैठक र विश्वासको मतको सन्दर्भमा केन्द्रित हुनेछ । 
 

विशेष