News विदेश

अमेरिकामा पन्ध्रौँ पटकको मतदानमा सभामुख निर्वाचित

अमेरिकामा पन्ध्रौँ पटकको मतदानमा सभामुख निर्वाचित

संयुक्त राज्य अमेरिकाको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सको सभामुखमा रिपब्लिकन केभिन मेकार्थी निर्वाचित भएका छन्। त्यसले वासिङ्टनमा कैयौँ दिनदेखि कायम गतिरोध र विभाजनलाई अन्त्य गरेको छ।

पन्ध्रौँ चरणको मतदान पछि उनी अन्ततः सफल भएका थिए। यो अमेरिकाको इतिहासमा १५० वर्ष भन्दा बढी समय यताको लामो गतिरोध हो। रिपब्लिकन दलको एउटा सानो समूहले यसअघिको निरन्तर प्रयासलाई अवरुद्ध बनाइदिएका थिए।

तर अन्ततः उक्त प्रस्तावको विपक्षमा रहेका ६ जनाले आफ्नो अडान छाडेका थिए। यसअघि शुक्रवार राति नाटकीय रूपमा एक मत नपुग्दा मेकार्थी सभामुख चुनिन सकेनन्।

त्यस बेला संसद्को च्याम्बरभित्र चर्को आरोप प्रत्यारोप देखिएको थियो। खसेको ४२८ मत मध्ये मेकार्थीले २१६ र डेमोक्याटका हाकीम जेफ्रिले २१२ मत प्राप्त गरेका थिए। संसद्को प्रक्रिया प्रारम्भ भएको लगभग साढे १२ घण्टापछि र गतिरोध देखा परेको ४ दिनपछि उक्त परिणाम आएको थियो।

राष्ट्रपति बाइडनले नयाँ सभामुखलाई बधाई दिँदै आफू रिपब्लिकनहरूसँग मिलेर काम गर्न तयार रहेको बताएका छन्। यसअघि रिपब्लिकनहरूले सार्वजनिक रूपमा नै बाइडन, उनको प्रशासन र पारिवारिक व्यवसायका लेनदेनहरूमा छानबिन गर्ने बताएका थिए।

तर सभामुख चुनिएको पहिलो दिन ह्वाइट हाउसबाट न्यानो शब्दमा सहकार्यको प्रस्ताव सार्वजनिक भएको छ। ह्वाइट हाउसले सार्वजनिक गरेको विज्ञप्तिमा बाइडनले केही समय पहिले मिडटर्म निर्वाचनमार्फत मतदाताहरूले रिपब्लिकनहरूलाई आफूसँग मिलेर काम गर्ने अपेक्षा राखेको बताए।

पछिल्लो गतिरोधले संसद्का कतिपय महत्वपूर्ण जिम्मेवारी जस्तै समितिहरूको गठन र नयाँ सदस्यहरूको शपथग्रहण प्रभावित बनाएको थियो। सभामुखलाई संसद्को बैठकको अजेण्डा तय गर्ने र विधायीकी जिम्मेवारीको सुपरिवेक्षण गर्ने अधिकार हुन्छ।

राष्ट्रपति र उपराष्ट्रपतिपछिको मर्यादाक्रममा यो पद रहने गरेको छ। यसैबीच केभीन मेकार्थीलाई सभामुख चयन गरिएपछि सदनका डेमोक्र्याट सदस्यहरूले रिपब्लिकन दलभित्रको अतिवादी खेमामा शक्ति पुगेको टिप्पणी गरेका छन्।

ट्विटरमा क्यालिफोर्नियाका प्रतिनिधि एरिक स्वालवेलले लेखेका छन्, ‘दुई वर्षअघि चरमपन्थीहरू संसद् भवन नियन्त्रणमा लिन विफल भएका थिए। आज केभिन मेकार्थीले उनीहरूलाई रिपब्लिकन दल नियन्त्रणमा लिन दिए।’
यो सामग्री बीबीसी नेपालीबाट सभार गरिएको हो।

विशेष