News

प्रदेश १ मा एमाले नेता कार्कीले पेश गरे मुख्यमन्त्रीमा दाबी

प्रदेश १ मा एमाले नेता कार्कीले पेश गरे मुख्यमन्त्रीमा दाबी

प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका नेता हिक्मतकुमार कार्कीले दाबी पेश गरेका छन् । एमाले प्रदेश १ संसदीय दलको नेता समेत रहेका कार्कीले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीका लागि दाबी पेश गरेका हुन् ।

कार्कीले ६० जना प्रदेशसभा सदस्यको समर्थनसहित प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष दावी पेश गरेका हुन। प्रदेश प्रमुखले सरकार गठनका लागि दिएको समय सकिनु एक घण्टा अगाडि उनले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् । नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र जसपाका ६० सांसदको उनलाई समर्थन छ ।

नेकपा एमालेको ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ गरी सत्तारुढ दलसँग ६० जना सांसद छन् । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । प्रतिपक्षमा रहेको नेपाली कांग्रेसको २९ र नेकपा एकीकृत समाजवादीको ४ सिट छ ।

कार्कीलाई मुख्यमन्त्री बनाउन दावीसहित माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलासहित नेताहरु प्रदेश प्रमुखको कार्यालय पुगेका थिए । 
 

विशेष