News

ओली-प्रचण्ड फाटो कुरेर वस्ने, खटपट सुरु भए एट्याक गर्ने योजनामा देउवा

ओली-प्रचण्ड फाटो कुरेर वस्ने, खटपट सुरु भए एट्याक गर्ने योजनामा देउवा

नेपाली कांग्रेसले तत्कालका लागि सत्ता प्राप्तिको योजना स्थगित गरेको छ। गैरवामपन्थी ध्रुवीकरणबाट तत्काल सत्ता फर्काउने योजनामा अगाडि वढेका सभापति शेरबहादुर देउवा ब्याक भएका छन्।

गैरवामपन्थी ध्रुविकरण गरेर प्रधानमन्त्री बन्ने सम्भावना नदेखेपछि देउवाले अव एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको फाटो कुरेर वस्ने योजना वनाएको कांग्रेसका नेताहरु वताउँछन्।

देउवाले वर्तमान सरकारलाई विश्वासको मत दिएर माओवादीसँग सत्ता समीकरणको सम्भावना जीवित राख्ने संकेत गरेको एक नेताले वताए । कुनै पनि बेला एमाले अध्यक्ष केपी शर्मा ओलीसँग दाहालको खटपट हुने आकलनसहित देउवाले विश्वासको मत दिने विषयमा पार्टीभित्र परामर्श थालेका छन । ओलीले दाहाललाई धोका दिने र त्यसको फाईदा कांग्रेसलाई हुनेमा देउवा निकटका अधिकांश नेता एक मत छन्। 

सिंहदरबारस्थित कार्यालयमा शनिबार बसेको कांग्रेस संसदीय दल बैठकको निर्णयमा पार्टी प्रमुख प्रतिपक्षमा बस्ने उल्लेख छैन । प्रतिनिधिसभामा प्रभावकारी र जिम्मेवार भूमिका निभाउँदै जनताको विश्वास र पार्टीका साथीहरूको अपेक्षाबमोजिम कार्य गर्न एकताबद्ध ढंगले अघि बढ्ने वैठकले निर्णय गरेको छ।

‘विदेशी शक्तिको आड’ र आफ्नै कोटरीको विश्वासमा पर्दा सत्ता र शक्ति गुमाउनुपरेका कारण पछुताइरहेका देउवाले यस पटक भने अन्य शीर्ष नेतासँग राय–सुझाव लिइरहेका छन । खासगरी उनले अर्को पक्षका नेता शेखर कोइरालाका साथै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पनि विश्वासमा राख्न खोजेको नेताहरु वताउँछन्।

नेताहरुले विश्वासको मत दिने वा नदिने निर्णय लिँदा कांग्रेसले आफ्ना मतदाता र कार्यकर्तालाई प्रस्टसँग भन्न सक्नुपर्ने सुझाव दिएका छन्। कांग्रेस नेता रामचन्द्र पौडेल केही समयअघिदेखि नै सहमतीय सरकार भन्दै सरकारलाई विश्वासको मत दिने पक्षमा उभिएका छन । सरकारलाई विश्वासको मत दिँदा राष्ट्रपति निर्वाचनमा नयाँ ध्रुवीकरणको सम्भावना हुन सक्ने उनको आकलन छ ।

देउवाले बनाइरहेको मनस्थिति र पौडेलले बोल्दै आएको भनाइबीच तालमेल भने मिल्दैन । देउवाले प्रधानमन्त्रीको हठ नत्याग्दा पौडेलले मुखमै आएको राष्ट्रपति पद गुमाएका थिए । तरल राजनीतिका बीच कांग्रेस सरकारको पक्षमा उभिँदा राष्ट्रपतिको अवसर जुर्छ कि भन्ने आसमा पौडेल छन । तर, देउवाको योजना भविष्यमा सत्ता समीकरण नै उल्टाउने रहेको नेताहरू बताउँछन ।

विशेष