News

प्रदेश १ को मुख्यमन्त्री बन्दै एमाले नेता कार्की

प्रदेश १ को मुख्यमन्त्री बन्दै एमाले नेता कार्की

प्रदेश १ मा नेकपा एमालेका नेता हिकमत कार्की मुख्यमन्त्री बन्ने भएका छन् । झापा ५ को क्षेत्र नम्बर १ बाट प्रदेशसभामा निर्वाचित कार्की एमाले स्थायी कमिटी सदस्य हुन्।

अध्यक्ष केपी ओली निकट उनी प्रदेशको पहिलो कार्यकालमा आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका थिए। प्रदेश १ को मुख्यमन्त्री दाबी गरिरहेको नेकपा माओवादी केन्द्र निकट नेताहरुले प्रदेश १ मा एमालेकै नेतृत्वमा सरकार बन्ने बताएका छन्।

प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश १ सरकारको मुख्यमन्त्री दाबी गर्न दलहरूलाई दिएको समयसीमा आज साँझ ५ बजे सकिने भएपछि सत्ता साझेदार दलहरुले आजै प्रदेश प्रमुखसामू मुख्यमन्त्री दाबी गर्ने तयारी गरेका छन्। 

पुस १७ गते नै प्रदेश प्रमुखले एक साताको समय दिएर संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीको दाबी गर्न प्रमुख खापुङले आव्हान गरेका थिए। एमाले र माओवादीको गठबन्धन हुँदा प्रदेशमा आरामदायी बहुमत पुग्ने अवस्था छ। ९३ सदस्सीय सभामा बहुमतका लागि ४७ सिट आवश्यक पर्छ। एमालेसँग ४० र माओवादीसँग १३ सिट छ।

केन्द्रीय गठबन्धनमा सामेल रहेको राप्रपाको ६ सिट र जसपाको १ सिट थपिँदा सरकारलाई ६० सांसदको समर्थन पुग्नेछ। प्रदेशसभामा नेपाली कांग्रेससँग २९ र एकीकृत समाजवादीसँग ४ सांसद छन्।

कुनै पनि दलसँग एक्लै सरकार बनाउन पुग्ने बहुमत नभएका कारण यहाँ दुई वा दुईभन्दा बढी दलहरुको सहभागितामा सरकार बन्नेछ। 
 

विशेष