News

विद्यार्थीको मृत्युपछि सुरु भएको आन्दोलनमा प्रहरीले गोली चलायो

विद्यार्थीको मृत्युपछि सुरु भएको आन्दोलनमा प्रहरीले गोली चलायो

 सिरहाकाको मिर्चैयामा जारी आन्दोलनमा प्रहरीले गोली चलाएको छ। मिर्चैया नगरपालिका–३ स्थित सगरमाथा माविमा कक्षा ८ मा अध्ययनरत छात्राको मृत्युपछि अहिले प्रदर्शन भइरहेको छ । 

प्रदर्शनकारीले ईलाका प्रहरी कार्यालय मिर्चैयामा घेरा हालेपछि ६ राउण्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी सुवास बुढाथोकीले बताए । 

भिड नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड अश्रु ग्याँस पनि प्रहार गरेको छ । प्रदर्शनकारीले ढुंगा प्रहार गर्दा ७ जना प्रहरी घाइते भएका छन् ।  सगरमाथा माविमा अध्ययनरत १५ वर्षीया छात्रा सिर्जनाकुमारी महराको गएराति मृत्यु भएको थियो ।

सिरहा नगरपालिका ११ भलुवाहीकी सिर्जनाले पुस २२ गते पेट दुखेपछि औषधि खान पानी मागेकी थिइन् । शिक्षिका अम्बिका लम्सालले पानी भनेर स्प्रिट दिएको र त्यो खाएपछि सिर्जनाको मृत्यु भएको जनाईएको छ। शिक्षिकाले जानेर नभई झुक्किएर स्प्रिट दिएको पाईएको छ।

सिर्जनालाई उपचारका लागि तत्कालै कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पताल लगिएको थियो । उपचारको क्रममा शनिबार साँझ उनको मृत्यु भएको छ । शिक्षिकाको लापरबाहीले मृत्यु भएको भन्दै बिहानैदेखि विद्यार्थी र आफन्तले आन्दोलन गरिरहेका छन् । 
 

विशेष