News

प्रचण्डलाई विश्वासको मत दिएर मनमोहनकै जस्तो सरकार ढाल्ने देउवाको सूत्र !

प्रचण्डलाई विश्वासको मत दिएर मनमोहनकै जस्तो सरकार ढाल्ने देउवाको सूत्र !

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारलाई नेपाली कांग्रेसले पनि समर्थन गर्ने संकेत गरेका छन् । सोमबार पार्टी संसदीय दलमा आफूलाई कांग्रेसको समर्थन आउने सम्भावना रहेको उनले जानकारी दिए।

‘कांग्रेससँग पनि मैले विश्वासको मत मागेको छु, त्यस पार्टीका नेताहरु मैले आफूप्रति सकारात्मक रहेको पाएँ’ दाहालको भनाई उधृत गर्दै माओवादी केन्द्रका सांसदले भने–‘नतिजा एकदमै राम्रो आउन पनि सक्छ।’

एमालेको समर्थनमा प्रधानमन्त्री बनेका दाहाललाई विश्वासको मत दिएर गठबन्धनको आशा जीवित राख्ने कांग्रेसले संकेत गरेको छ। यसो हुँदा अढाई वर्षपछि पुनः कांग्रेस–माओवादीसहितको गठबन्धन वन्ने सम्भावना रहन्छ।

माओवादी केन्द्रसँग दूरी नबढाउने उद्देश्य सहित कांग्रेसले विश्वासको मत दिने सम्भावनालाई कांग्रेसका नेताहरु नकार्दैनन् । वर्तमान सरकारमा कुनै पनि समय समस्या उत्पन्न हुने आकलनले कांग्रेसले नयाँ रणनीति तय गरेको छ । 

कांग्रेसले दाहाललाई समर्थन गर्नुअघि केही पूर्व शर्तहरु भने चाहेको छ । कांग्रेसले हरसम्भव राष्ट्रपति आफ्नो दलबाट बनाउन खोजेको छ । त्यसका लागि कांग्रेसले दाहालसँग विश्वास खोजेको छ । राष्ट्रपति र सभामुख दुवै पद एमालेको पोल्टामा जाँदा राज्यसंरचनामा एमाले हाबी हुन सक्ने कांग्रेसका नेताहरुको बुझाइ छ । ०७४ पछि एमालेले राष्ट्रपतिको पदलाई आफू अनुकूल प्रशस्तै उपयोग गर्न सकेको कांग्रेसको निष्कर्ष छ ।

हालको आलोपालो सहमति अन्तर्गत अढाइ वर्षमा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्न सक्छन् । त्यसपछि मुख्य संवैधानिक पदहरुमा एमालेकै हालीमुहाली हुन सक्छ । यो सम्भावित परिस्थितिसँग कांग्रेस झस्केको छ ।

यसै कारण माओवादीसँग संवाद गर्नका लागि उपसभापति पूर्णबहादुर खड्कालाई सभापति देउवाले खटाएका छन् । राष्ट्रपति पदका लागि हुने निर्वाचनमा प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सांसदले मत दिनुपर्ने हुन्छ । केन्द्रीय र प्रदेश सभा सदस्यको फरक फरक अंक कायम गरिएको हुन्छ । प्रतिनिधिसभामा संसदमा पहिलो दल कांग्रेस भएकाले स्वभाविक रुपमा उक्त दलको मतभार बढी हुन्छ । संघ र प्रदेशका सांसदको मताधिकार भएकाले माओवादीलाई साथ लिन सके राष्ट्रपति चुनिने अपेक्षा कांग्रेसको छ ।

विश्वासको मत दिने/नदिने पक्षमा कांग्रेसभित्र स्पष्ट दुई धार देखिएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विश्वासको मत दिन नहुने पक्षमा छन् । संस्थापनइतरका नेताहरु विश्वासको मतको विपक्षमा छन् ।

आजको संसद वैठकमा पनि सभापति देउवा विनम्रता पुर्वक प्रस्तुत भएका थिए। माओवादी कुनै न कुनै रुपमा कांग्रेससँग नजिकिने आकलन देउवाको छ। देउवा नरम हुनुमा उनको भावी सत्ता यात्राको चाहनालाई जोडेर हेरिएको छ । माओवादीले नयाँ गठबन्धन तोडेपछि सत्ताको चाबी कांग्रेसमा हुने देउवाले बुझेर नै भित्री तयारी जारी राखेको नेताहरु बताउँछन् । 

विशेष