News

इजरायलमा कुनै पनि प्रकारको भ्रमण नगर्न सरकारको आग्रह

इजरायलमा कुनै पनि प्रकारको भ्रमण नगर्न सरकारको आग्रह

परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा कुनै पनि संस्थागत, राजनीतिक वा व्यक्तिगत भ्रमण नगर्न आग्रह गरेका छन्।

सोमबारको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै मन्त्री साउदले इजरायलको अवस्था अझै सामान्य नभएकाले भ्रमण नगर्न आग्रह गरेका हुन।

उनले इजरायलमा रहेका नेपालीहरुको अवस्थाबारे समितिले जानकारी समेत गराए । मन्त्री साउदका अनुसार इजरायलमा चार हजार ५०० जना नेपाली केयर गिभरको रुपमा कार्यरत छन् ।

यसैगरी लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत २६५ जना विद्यार्थीहरु इजरायलमा रहेको र तीमध्ये १० जनाको हमासले गरेको आक्रमणमा परी मृत्यु भएको उनले जानकारी गराए ।

शवहरु, बंकरबाट सुरक्षित स्थानमा सारिएका र नेपाल आउन इच्छुक अन्य नेपालीहरुलाई सुरक्षित रुपमा नेपाल ल्याउने तयारी भइरहेको उनको भनाई छ।

सरकारले इजरायलको भिसा पाएकालाई पनि अहिले त्यहाको यात्रा नगर्न आगंह गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २४ जना सहायक कामदारहरूलाई इजरायलमा यात्रा नगर्न अनुरोध गरेको हो। 

सोमबार साँझ मन्त्रालयले एक सूचना जारी गर्दै श्रम सम्झौता बमोजिम इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका लागि छनोट भएका २४ जनालाई यात्रा नगर्न अनुरोध गरेको हो। 

भिसा समेत प्राप्त गरिसकेका कामदारहरूको उडानको समय बुधबार बिहान १ बजे तय भएको थियो। तर इजरायलमाथि प्यालेस्टाइनको इस्लामिक समूह हमासले गरेको आक्रमणका कारण तनाव सिर्जना भएको छ। जसकारण १० जना नेपाली विद्यार्थीहरूको ज्यान समेत गएको छ। 

त्यसैलाई मध्यनजरमा राख्दै मन्त्रालयले २४ जना भिसा पाएका कामदारहरूको नामसहित सूचना प्रकाशन गरेको हो। 

इजरायलमा शान्ति र सुव्यवस्था सामान्य भएपछि मात्रै वैदेशिक रोजगार सम्बन्धी थप कारबाही अघि बढाउन मन्त्रालयले अनुरोध गरेको हो।
 

विशेष