News स्वास्थ्य

सहमतिको मसी नसुक्दै राजधानीमै डाक्टरमाथि कुटपिट, एक जना पक्राउ

सहमतिको मसी नसुक्दै राजधानीमै डाक्टरमाथि कुटपिट, एक जना पक्राउ

गृहमन्त्री नारायणकाजी श्रेष्ठको रोहवरमा स्वास्थ्यकर्मीसँग भएको सहमतिको मसी सुक्न नपाउँदै राजधानी काठमाण्डौंमा डाक्टरमाथि कुटपिट भएको छ।

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा अध्ययनरत चिकित्सकलाई बिरामीका आफन्तले कुटपिट गरेका हुन् । केएमसीका अध्ययनरत एक चिकित्सकका अनुसार ओपीडीमा कार्यरत इन्टर्न डा. मनिष खड्कामाथि कुटपिट भएको हो।

ओपीडीमा जम्मा भएर हल्ला नगर्न र बाहिर गएर पर्खन भनेपछि एक बिरामीका आफन्तले ती चिकित्सकलाई गाली गर्दै कुटपिट गर्न सुरु गरेका थिए । उनीहरूले ती चिकित्सकलाई उचालेर भूइँमा पछार्नुका साथै चिकित्सकलाई जोगाउन गएकी एक महिला एटेन्डेन्टलाई पनि हातपात गरेका छन् ।

घटनापछि अस्पतालतमा कार्यरत चिकित्सक तथा इन्टर्नहरूका साथै स्वास्थ्यकर्मीले अस्पताल अगाडीको बाटोमा जम्मा भएर नाराबाजी गरिरहेका छन् । उनीहरूले डाक्टर कुट्नेलाई तुरुन्तै पक्राउ गरी गृहमन्त्रीको रोहवरमा भएको सहमतिको पूर्ण पालना गर्न आग्रह गरेका छन् ।

चिकित्सकका अनुसार चिकित्सक कुट्नेमध्ये एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने २ जना फरार भएका छन् । केएमसीका चिकित्सक तथा इन्टर्नहरूको विरोध प्रदर्शन चक्रपथतर्फ अगाडि बढ्ने भएपछि त्यहाँ ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ।

पोखरास्थित मणिपाल अस्पताललगायतमा भएको घटनापछि आन्दोलनरत चिकित्सकहरूसँग सरकारले सहमति गरेको भोलीपल्ट राजधानीमा यस्तो घट्ना भएको हो।
 

विशेष