News अर्थ बैंकिङ अपराध सुरक्षा

बचतकर्ताको ९ करोड हिनामिना गरेर माछापुच्छ्रे सहकारीका सञ्चालक फरार

बचतकर्ताको ९ करोड हिनामिना गरेर माछापुच्छ्रे सहकारीका सञ्चालक फरार

विराटनगरको माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक नै भागेपछि वचतकर्ताको विचल्ली भएको छ। समितिले अध्यक्ष अमलेश कर्णसहित चार जना सञ्चालकले ९ करोड २५ लाख ९१ हजार ६ सय १ रुपैयाँ हिनामिना गरेको पाईएको छ।

हिनामिना भएको रकमको आधा रकम सहकारीका पूर्व सचिव तथा व्यवस्थापक अमित कार्कीले तिर्नुपर्ने देखिएको छ । कार्कीले मात्रै ४ करोड ७३ लाख ७४ हजार ९५६ रुपैयाँ खर्च हिनामिना गरेको छानबिनका क्रममा देखिएको थियो ।

कार्कीले दुई वटा बैंकबाट ५ करोड २५ लाख रुपैयाँ शंकास्पद कारोबार गरेको देखिएको छानबिनमा देखिएको पीडितहरुले वताएका छन्।

सहकारीका पूर्वसचिव तथा सञ्चालक प्रभाकर थापाले एक करोड ६० लाख ३३ हजार ४०२ रुपैयाँ हिनामिना गरेको देखिएको थियो । सहकारीका अध्यक्ष अमलेश कर्णले एक करोड ४७ लाख ८३ हजार २७५ रुपैयाँ गोलमाल गरेको जनाईएको छ।

सहकारीका कोषाध्यक्ष राधादेवी लिम्बुले १ करोड ४३ लाख ९९ हजार ९६६ रुपैयाँ हिनामिना गरेको देखिएको थियो ।

सहकारीले बचतकर्ताबाट उठाएको मध्ये एक करोड ५१ लाख १० हजार २३८ रुपैयाँ ऋण लगानी गरेको छ । सर्वसाधारणबाट संकलन भएको ९ करोड २५ लाख ९१ हजार रुपैयाँ मध्ये ६ करोड २८ लाख ६३ हजार ८२५ रुपैयाँको अपारदर्शी रुपमा खर्च गरेको छ।

यो सहकारीको सुन्दरहरैचा नगरपालिकाको विराटचौकमा पनि सेवा केन्द्र सञ्चालन गरेको थियो । सुन्दरहरैचाबाट ५२ जना बचतकर्ताको ६० लाखभन्दा बढी रकम सहकारीमा डुबेको छ । 

मंगलबार सहकारीबाट पीडित भएकाहरुले पत्रकार सम्मेलन गर्दै आफ्नो रकम फिर्ता गर्ने वातावरण बनाइदिन आग्रह गरे । सहकारी बचत फिर्ता नदिएपछि पीडित प्रहरी कार्यालय पुगे पनि प्रहरीले उजुरी नलिएपछि त्यसै फर्किएको बचतकर्ताको गुनासो छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले सहकारीको रकम हिनामिनाका विषयमा प्रदेश सरकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले छानबिन गरिरहेका कारण उजुरी नलिएको बताए ।

सहकारीको बचत फिर्ता गराउने विषयमा पटक–पटक छलफल भएको बताउँदै उनले छानबिन प्रतिवेदन आएपछि उजुरी लिएर कारवाही प्रक्रिया अघि बढाउने बताए । 

रजिष्ट्रार कार्यालयले यसअघि पनि छानबिन समिति गठन गरेको थियो । सहकारीको कार्यालय बन्द गरेर सञ्चालक सम्पर्क विहीन भएपछि कार्यालयले जिल्ला सहकारी संघ मोरङका सदस्य उमेश गुरुङको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको थियो । 
 

विशेष