नायक अनमोल केसी अझै ३ दिन हिरासतमै रहने, अदालतले दियो अनुमती
ठगी आरोपमा पक्राउ परेका अभिनेता अनमोल केसीलाई अदालतले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश कृष्ण प्रसाद सुवेदीले अनमोललाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन् ।
आपराधिक विश्वासघात मुद्दामा पक्राउ परेका अभिनेता केसीको बयान भने प्रहरीले लिइएको छ। टेकुस्थित जिल्ला प्रहरी परिसर काठमाडौंमा आइतबार अपराह्न केसीको बयान भएको एसपी कुमोध ढुंगेलले जानकारी दिए।
रावायण फिल्ममा खेल्न केसीले १० लाख रुपैयाँ लिएर पछि खेल्न अस्वीकार गरेको आरोप छ। फिल्म खेल्न अस्वीकार गरेको भन्दै फिल्मका प्रड्युसरले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा जाहेरी दिएका थिए।
जाहेरी दिएपछि कार्यालयको टोलीले गत शुक्रबार केसीलाई पक्राउ गरेको थियो। पक्राउ परेकै राति केसीलाई महाराजगन्जस्थित चिरायु अस्पतालमा भर्ना गरिएको थियो।