News

भैरहवाको युसिएमएस एण्ड टिचिङ हस्पिटलका प्रिन्सिपल ५ दिनदेखि बन्धक

भैरहवाको युसिएमएस एण्ड टिचिङ हस्पिटलका प्रिन्सिपल ५ दिनदेखि बन्धक

भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्स (युसिएमएस) एण्ड टिचिङ हस्पिटलका प्रिन्सिपल प्रा.डा.लक्ष्मी पाठकले आफुलाई विद्यार्थीहरुले ५ दिनदेखि बन्धक वनाएर राखेको आरोप लगाएकी छिन्।

पाठकले रातभर चर्को स्वरमा स्पिकर बजाएर सुत्न नदिएको तथा खान र शौचालय जान समेत नदिएर यातना दिई अमानविय ब्यवहार गरिएको उनको आरोप छ। विद्यार्थीहरुले आफूलाई ट्रयाप गरेर राखेको उनले बताईन।

‘पाँच दिनदेखि एउटै कपडामा छु, पिरियड भएकै कपडामा छु, दिनमा तीनपटक मात्र बाथरुम जान दिएका छन्, कसैले पकेटमा लुकाएर ल्याएको खाएको छु,’ उनले भनिन्, ‘दिउँसोमा मलाई कसैलाई भेट्न दिएका छैनन्, पिसाब पनि च्यापेर बसेको छु, २४ घण्टामा तीनपल्ट मात्र जानुपरेको छ ।’

त्यहाँ ड्रेस कोडको विवादले विद्यार्थीहरु ५ दिनदेखि आन्दोलनमा छन्। पोशाक अनिवार्य गर्ने प्रिन्सिपलको निर्णय विद्यार्थीले अस्विकार गरेका छन्। विद्यार्थीले पाठकको राजिनामा पनि मागेका छन्। त्यस विषयमा वार्ता गर्न दुई पटक लिखित अनुरोध गर्दा पनि उनीहरुले नटेरेको पाठकको गुनासो छ।

विद्यार्थीहरुले माफी नमागेसम्म माग सम्बोधन गर्न नसकिने उनको अडान छ । आफू केही गर्छु र गुणस्तर राम्रो बनाउन कोसिस गर्ने आंटिलो मान्छे भएको र राम्रो रिजल्टका लागि कडाइ (टाइट) गर्ने भएकाले व्यक्तिगत इगो सांधेर राजीनामा मागेको पाठकले दाबी गरिन् ।

आफू विद्यार्थीको पढाइ र आउँदो काउन्सिलको इन्टर्नसीपको बारेमा चिन्तित भए पनि आफूलाई बन्धक बनाएर काम गर्न नदिएकाले यसको जिम्मेवार विद्यार्थीहरु नै हुने उनले बताईन। विद्यार्थीलाई आन्दोलनमा कुनै राजनीतिक दल वा नेताले गाइड गरेको उनको आशंका छ।

कलेज प्रशासनले लागू गरेको ड्रेस कोड खारेज हुनुपर्ने, इन्टर्नसिपको पारिश्रमिक बढाउनुपर्ने, परीक्षा दिन प्रतिबन्ध लगाएका विद्यार्थीहरूको प्रतिबन्ध फुकुवा गर्नुपर्नेलगायतका माग राखेर विद्यार्थीहरुले आन्दोलन जारी राखेका छन् ।

रुपन्देहीका सीडीओ गणेश अर्यालले प्रिन्सिपल पाठकलाई बन्धक बनाएर राखिएको सूचना आफूकहाँ आएपछि वार्ताबाट समाधान खोज्न दुवै पक्षलाई सुझाव दिएको र प्रिन्सिपलको मानवअधिकार हनन् नगर्न सचेत गराएको बताए । 
 

विशेष