News अर्थ

रवि लामिछानेका ब्यवसायीक पार्टनर जीबी राई समुहको बदमासी, दाजुभाई मिलेर सहकारीको रकम अपचलन

रवि लामिछानेका ब्यवसायीक पार्टनर जीबी राई समुहको बदमासी, दाजुभाई मिलेर सहकारीको रकम अपचलन

ग्यालेक्सी फोरके टेलिभिजनमा रहँदा रवि लामिछानेका ब्यवसायीक पार्टनर जीवी राई समुहले सूर्यदर्शन बचत तथा ऋण सहकारीबाट करिब डेढ अर्ब हिनामिना गरेको पाईएको छ। हिनामिनामा उनका दाजु भूपेन्द्रसमेत संलग्न देखिएका छन्।

यस विषयमा अध्ययन गर्न पोखरा महानगरपालिकाले बनाएको विशेषज्ञ समितिले गरेको अध्यननका क्रममा सहकारीको १ अर्ब ३१ करोड ५३ लाख ८२ हजार रुपैयाँ अपचलन भएको भेटिएको हो ।

१ हजार ३६ जना बचतले १ अर्ब ११ करोड रकम पाउनुपर्ने दाबी गर्दै निवेदन दिएपछि पोखरा महानगरपालिकाले सहकारीको आर्थिक हिनामिनासम्बन्धी विश्लेषणात्मक अध्ययन गर्न १० भदौमा विशेषज्ञ समिति गठन भएको थियो ।

समितिको अध्ययनमा जीबी अध्यक्ष हुँदा २१ करोड ४२ लाख र जीबीका दाइ भूपेन्द्रको अध्यक्ष हुँदा ८० करोड ७० लाखको हिसाब नदेखिएको पाइएको छ ।

देशभर विभिन्न नेटवर्क खडा गरी जीबी राइ समूहले अर्बौं रुपैयाँ अपचलन गरेको सार्वजनिक हुनुअघि नै सूर्यदर्शन सहकारीले बचतकर्तालाई रकम दिन छाडिसकेको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीले ३२ साउनमा सूचना जारी गरी भदौ १५ गतेसम्म जाहेरी दिन आग्रह गरेको थियो ।

त्यही उजुरीको आधारमा २४ भदौमा जीबीसहित ७ जनाको नाममा पक्राउ पुर्जी जारी भयो । अहिलेसम्म १९ जनाको नाममा जारी भइसकेको छ, तर कोषाध्यक्ष कुमार रम्तेल मात्र पक्राउ परेका छन् । रम्तेल पक्राउ परेको २२ दिन भइसकेकाले एकदुई दिनमै जिल्ला सरकारी वकिलको कार्यालयमा फाइल बुझाउन लागिएको कास्की प्रहरी प्रमुख मोहनबहादुर थापाले जानकारी दिए ।

पोखरा–४ मा रहेको सूर्य दर्शन सहकारीका १ हजार ३६ जना बचतले १ अर्ब ११ करोड रकम पाउनुपर्ने दाबी गर्दै प्रहरी कार्यालयमा उजुरी दिएका छन् । महानगरको विशेषज्ञ समूहको अध्ययनका क्रममा करिब डेढ अर्ब हिनामिना भएको अध्ययनले देखाएको छ । सहकारीको १ अर्ब ३१ करोड ५३ लाख ८२ हजार रुपैयाँ अपचलन भएको देखिएको छ भने कतिपय रकमको अभिलेख नै नभेटिएको प्रतिवेदनमा छ ।

जीबी अध्यक्ष हुँदा २१ करोड ४२ लाख र उनका दाइ भूपेन्द्र अध्यक्ष हुँदा ८० करोड ७० लाखको हिसाब देखिएको छैन । सुरुमा सहकारीको व्यवस्थापक भएका थानबहादुर पछिल्लो कार्यकालमा अध्यक्ष बनेका थिए ।

सहकारीको संकट बाहिर नजओस् भन्नका लागि पनि थानबहादुरले नै अध्यक्ष र व्यवस्थापकको काम गर्दै आएका थिए ।

सूर्यदर्शन सहकारीमार्फत सञ्चालक तथा व्यक्तिमार्फत कम र सहायक कम्पनीमार्फत बिना कागजात धेरै ठाउँमा पैसा निकालेर चलाएको पाइएको छ । सहकारीले ब्रिज लोनका नाममा ४५ करोड लगानी गरेको छ । तर, त्यो कस्तो लोन हो ? के प्रयोजनका लागि दिइएको हो भन्ने कुनै पनि कागजात नदेखिएको अध्ययन रिपोर्टले देखाएको छ ।

जीबी राई समूहको नेचर हर्ब्स इन्टरनेसनल, नेचर नेष्ट, स्प्रिङ उड, ग्रिजी स्पोन, गोर्खा ग्रुप अफ कम्पनीजस्ता सहायक कम्पनीमार्फत यो समूहले सहकारीको रकम चलाएको पाइएको छ । गोरखा मिडिया नेटवर्कको नाममा २ करोडभन्दा बढी रकम गएको देखिन्छ ।
 

विशेष