News

गृहमन्त्रीलाई ओलीको प्रश्न– हेटौडा गएर किन खोकेको ?, जनयुद्धको विदा रद्ध गर्न चेतावनी

गृहमन्त्रीलाई ओलीको प्रश्न– हेटौडा गएर किन खोकेको ?, जनयुद्धको विदा रद्ध गर्न चेतावनी

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मन्त्रीपरिषद बैठकबाट ‘जनयुद्ध दिवस’ का अवसरमा फागुन १ मा दिने गरिएको बिदा रद्द गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी दिएका छन्।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै ओलीले आफूहरूको सहमतिबिनै प्रधानमन्त्री दाहालले गत वर्ष पनि ‘जनयुद्ध दिवस’ मा बिदा दिएको बताए। ‘अबको मन्त्रिपरिषद बैठकबाट जनयुद्ध दिवसमा दिइएको बिदा रद्द गर्नुहोस्,’ ओलीले भने, ‘रद्द गर्नुहुन्न भने हामीले यसका विरूद्ध कदम चाल्नुपर्ने हुन्छ।’

आफूहरूले शान्ति प्रक्रियामा सहमति जनाएको तर हिंसा सुरू भएको दिनलाई जयगान गर्न नसकिने ओलीले बताए। प्रधानमन्त्री दाहालले नै शान्ति प्रक्रिया टुंग्याउन नचाहेको ओलीको आरोप थियो।

ओलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ‘सुशासन रोक्न कुन विरोधी लागेका हुन्’ भन्दै प्रश्न गरे। ‘हिजो गृहमन्त्रीजीले हेटौंडामा गएर उधुमै खोक्नुभयो। सुशासन अभियान चलाएको, त्यसलाई रोक्न संगठित रूपमा विरोधीहरू लागेका छन्’ उनले सोधे–‘कुन विरोधी लागे तपाईंको सुशासन रोक्न?’

भेपमा ल्याएको सुन र सय किलो सुन प्रकरण ढाकछोप गर्न गृहमन्त्री लागेको ओलीको आरोप छ। ‘छानबिन समिति बनाऔं भन्दा एक महिनासम्म बनाउन नदिने, छानबिन गर्दा के बिग्रन्थ्यो महाशय तपाईंको?’ उनले सोधे–‘किन आत्तिनुभएको स्वतन्त्र र निष्पक्ष छानबिनसँग। अनि गफ दिनुहुन्छ हेटौंडा गएर।

‘सुशासन भनेको सरकारको नियमित काम हो। सरकारले शान्ति सुरक्षा दिनुपर्छ, भ्रष्टाचार रोक्नुपर्छ, घुस रोक्नुपर्छ,’ उनले भने, ‘सुशासन सरकारको अभियान होइन, नियमित काम हो।’

विशेष