News अर्थ अपराध सुरक्षा

११ किलो सुन तस्करी प्रकरणमा थप एक चिनियाँ नागरिक पक्राउ

११ किलो सुन तस्करी प्रकरणमा थप एक चिनियाँ नागरिक पक्राउ

दोलखामा बरामद गरेको ११ किलो सुन तस्करी प्रकरणमा प्रहरीले थप एक जना चिनियाँ नागरिक पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा चीनको सिचुवान घर भई काठमाडौं महानगरपालिका–१५ किमडोल स्वयम्भू बस्ने ६६ वर्षीय तासी, दावा भन्ने आगर लामा छन्। उनलाई स्वयम्भूबाट पक्राउ गरिएको एसपी अधिकारीले बताए। 

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बुधबार दिउँसो उनलाई पक्राउ गरेको ब्युरोका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।

यो सुन तस्करी गरेको घटनामा सुन अर्डर गर्नेदेखि ल्याउन लगाउने सम्मको भूमिका तासीले खेल्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 

मंगलबार मात्रै सिआइबीको टोलीले काठमाडौंबाटै एक जना चिनियाँ नागरिकसहित ३ जनालाई पक्राउ गरेको छ भने त्यसअघि दोलखाबाट ७ जनालाई पक्राउ गरेको थियो। 

चिनियाँ नागरिक ग्याङ रू, सनत प्रधान र लालबहादुर तामाङलाई मंगलबार काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरेको थियो। उनीहरूमाथि थप अनुसन्धानका लागि दोलखा पठाइसकेको छ। 

यसैगरी, असोज १० गते दोलखाको बिगु गाउँपालिका–१ का १९ वर्षीय पेम्बा तामाङ, २० वर्षीय माधव मगर, २८ वर्षका केशर तामाङ, ५५ वर्षका नुर्वु छिरिङ शेर्पा, ३० वर्षका सुनमाला तामाङ, ३२ वर्षका चस्मान (छिरिङ) तामाङ र एक नाबालकलाई पक्राउ गरिएको थियो।

असोज १२ गते प्रहरीले तीन किलो सुन बरामद गरेको थियो। अनुसन्धानकै क्रममा ११ किलो सुन बरामद भईसकेको छ। 
 

विशेष