रिगल विरुद्धको मुद्दा न्यायाधीश मनोज शर्माको इजलासमा

खुँडा प्रहार गरी ब्यक्ति हत्या गर्ने नेपालगञ्जका योगराज ढकाल ‘रिगल’को कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनमाथि सुनुवाइका लागि आज पेसी तोकिएको छ ।
सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माको एकल इजालसमा सुनुवाइका लागि पेसी तोकिएको हो । रिगलले खुँडा प्रहार गरेर नेपालगञ्जका चेतन मानन्धरको हत्या गरेका थिए । सरकारको सिफारिसमा राष्ट्रपति राचन्द्र पौडेलले उनको सजाय माफ गरी जेल मुक्त गरेका थिए।
चेतनकी पत्नी भारती शेर्पाले गत आइतबार रिगलको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन् ।
आफ्ना पतिको जघन्य हत्यामा संलग्न ढकालको कैद सजाय माफी मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर गरेर उनलाई फेरि कैदमा पठाउन शेर्पाले माग गरेकी छन् । उनले ढकालको कैद मिनाहाको सिफारिस गर्ने जिल्ला कारागार र जिल्ला प्रशासन कार्यालय दाङ, गृह मन्त्रालय, महान्यायाधिवक्ता कार्यालय र कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय पनि बदर गर्न माग गरेकी छन् ।