News विदेश

जेलमा रहेकी नर्गिसलाई नोबेल शान्ति पुरस्कार

जेलमा रहेकी नर्गिसलाई नोबेल शान्ति पुरस्कार

जेलमा रहेकी इरानकी मानव अधिकारकर्मी नर्गिस मोहम्मादीलाई यस वर्षको नोबेल शान्ति पुरस्कार दिईएको छ। ५१ वर्षीया नर्गिस अहिले इरानको जेलमा छिन् ।

नोबेल पुरस्कार समितिले शुक्रबार मोहम्मादीलाई इरानमा महिलामाथि हुने दमनविरूद्ध गरेको लडाइँ र मानव अधिकार प्रवद्र्धन तथा सबैको स्वतन्त्रताका लागि गरेको योगदानका लागि नोबेल शान्ति पुरस्कार दिने निर्णय गरेको हो। 

नोबेल पुरस्कार समितिले उनलाई ‘फ्रिडर फाइटर’को संज्ञा दिएको छ, र छिट्टै जेलमुक्त गर्ने विश्वास समेत व्यक्त गरेको छ । पुरस्कार आगामी १० डिसेम्बरमा वितरण हुनेछ ।

इरानी सरकारले उनलाई १३ पटक गिरफ्तार गरेको थियो भने ५ पटक दोषी ठहर गरेको थियो। उनलाई ३१ वर्ष जेल सजाय र १५४ कोर्राको सजाय सुनाइएको छ।   

नोबेल पुरस्कार समितिले नर्गिसलाई यस्तो बेला नोबेल शान्ति पुरस्कार दिएको छ, जतिबेला इरानमा महिलाहरुले स्वतन्त्रताका लागि आन्दोलन गरिरहेका छन् । सेप्टेम्बर २०२२ मा २२ वर्षीया महशा अमीनीको प्रहरी हिरासतमा मृत्यु भएपछि महिलाहरुले आन्दोलन सुरु गरेका थिए, जुन छिट्टै देशभर फैलियो । यसक्रममा महिलाहरुले सार्वजनिक रुपमा कपाल मुण्डन गरेका थिए । 
 

विशेष