News खेल

विद्यालय ब्यवस्थापनको इगोले १२ जना छात्रा विद्यालयबाट निस्कासित

विद्यालय ब्यवस्थापनको इगोले १२ जना छात्रा विद्यालयबाट निस्कासित

जुम्लामा विद्यालयको निर्णय नमानेको आरोपमा १२ जना छात्रालाई निष्कासनमा परेका छन्। विद्यालयको निर्णयविपरीत जिल्लामा जारी अन्तरविद्यालय छात्र तथा छात्रा (अन्डर–१६) फुटबलको फाइनलमा सहभागी भएको भन्दै उनीहरुलाई निस्कासन गरिएको हो।

सदरमुकाम खलंगास्थित चन्दननाथ माध्यमिक विद्यालयमा अध्ययनरत आइतबार छात्राहरुको फुटबल टिमलाई नै निष्कासन पत्र दिईएको छ। असोज १३ देखि सुरु फुटबल प्रतियोगिताको छात्रतर्फ १७ गते भैरव मावि धुपीढुस्का र चन्दननाथ माविबीच सेमिफाइनल खेलमा विवाद निम्तिएपछि चन्दननाथले प्रतियोगिताबाटै बाहिरिने निर्णय गरेको थियो ।

तर प्रतियोगिताको छात्रातर्फको फुटबलमा चन्दननाथ फाइनल पुगिसकेको थियो । प्रतियोगिताका बाँकी खेल बहिष्कार गर्ने गरी चन्दननाथले गरेको निर्णयविपरीत छात्रा टोलीले फाइनल खेलेपछि विद्यालयले खेलाडीलाई कारबाहीस्वरूप निष्कासन गरेको हो ।

छात्रतर्फ भैरव माविसँगको खेलमा गोल विवाद भएपछि चन्दननाथ माविले रेफ्रीको निर्णय अस्वीकार गरेको थियो। विद्यालयका प्रतिनिधिहरु खेल मैदान छोडी बाहिरिएपछि भैरव माविलाई विजयी घोषणा गरिएको थियो ।

निर्णय सच्याउन भन्दै चन्दननाथ माविले एन्फालाई निवेदन दिएको थियो । अन्तरविद्यालय स्तरीय छात्र र छात्रा दुवैमा सहभागिता जनाएको चन्दननाथ मावि उक्त खेलमा विवाद भएपछि सहभागिता नजनाउने भन्दै खेलाडीहरू मैदान छोडेर हिँडेका थिए ।

फाइनल पुगेका चन्दननाथका छात्राले भने आपसी सल्लाह गरेर स्कुलको निर्देशनविपरीत खेलमा सहभागिता जनाएका थिए । छात्राहरूको खेलमा कुनै विवाद नभएको र फाइनलमा पुगिसकेकाले सोझै प्रतिस्पर्धी स्कुललाई उपाधि दिनुभन्दा खेलौं भनेर सल्लाह गरिएको एक छात्रा खेलाडीले बताइन् ।

विद्यालयका प्रअ महतले विद्यार्थीले स्कुलको निर्देशन नमानेर खेल्न गएपछि एक शैक्षिक सत्रका लागि विद्यालयबाट निष्कासन गरिएको बताए ।

विशेष