News

डाक्टर बन्ने भारतीय विद्यार्थीहरूबाट जनही १० लाख घुस 

डाक्टर बन्ने भारतीय विद्यार्थीहरूबाट जनही १० लाख घुस 

चिकित्सा शिक्षा आयोगले विदेशी विद्यार्थीको भर्ना आवेदन गर्ने र छनोट प्रक्रियामा चरम अनियमित देखिएको छ।

आयोगले मेडिकल कलेज, कन्सल्टेन्सी र बिभिन्न दलालहरूको नेटवर्क बनाएर मोटो रकम असुल्ने गरेको प्रमाण नेपाल आज लाई प्राप्त भएको छ।

चिकित्सा शिक्षा आयोगले २०२४ को विदेशी विद्यार्थीको भर्ना निम्ति बिभिन्न कलेजहरूमा एमबिबिएसमा भर्ना हुनको लागि आवेदन आव्हान भदौ १६ मा गर्यो। जसको समय सीमा ३ अक्टोबर अर्थात असोज १६ सम्म थियो। त्यस समय सम्ममा ५६८ जना भारतीय विद्यार्थीले आवेदन दिए।

रिसब पटेलले त्यस समयसम्म आवेदन दिएका थिएनन्। आवेदन दिन तयारी गरेको तर दिन नपाएको अवस्था थियो उनको। उनी आवेदन दिने कुनै उपाय छ कि भनेर खोजी गरिरहेका थिए। चिकित्सा शिक्षा आयोगले २३ नोभेम्बर अर्थात मंसिर ७ मा म्याचलिस्ट निकाल्यो।

तर अचम्म के भयो भने उनको नाम पहिलो नम्बर मा निस्कियो। उनी एक उदाहरण हुन्, यस्ता अरु २०३ जना भाग्यमानीहरू छन्। श्रोतका अनुसार ५६८ जना भारतीय विद्यार्थीले समयसीमा हुँदै आवेदन दिएका थिए। तर घुमाउरो बाटोबाट २०३ जनाको समयसीमा सकिएपछि आवेदन थपियो र आवेदन दिनेको संख्या ७७१ भयो।

विद्यार्थी बाट मोटो रकम लिएर थपेको श्रोत बताउँछ। चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा .डा. अन्जनी कुमार झा भने यो आरोप स्वीकार्दैनन्। उनी भन्छन्, 'सबै अनलाइन प्रक्रिया हुने हुँदा आवेदन थप गर्न सकिदैन। अनियमितता सम्भव छैन र भएको पनि छैन। भारतबाट मलाई धेरैले फोन गरेका थिए।'

प्राप्त सूचना अनुसार डा. झाले महतो थर गरेका एक इन्जिनियर र विजय लक्ष्मी नाम गरेकी एक महिला मार्फत जनही दस लाख रुपैयाँ उठाएर थप विद्यार्थीको फर्म भरेका थिए। यस लगायत बिभिन्न कन्सल्टेन्सी, मेडिकल माफिया, दलालसँग उनको सम्बन्ध रहेको छ।

( अर्को भागमा चिकित्सा शिक्षा आयोग, मेडिकल कलेज र दलालहरूको राजगजको नेटवर्कको गैरकानुनी धन्दाको खुलासा गर्नेछौ। )  

विशेष