News

राहुल गान्धीलाई जवाफ नदिएका मोदीले रवि लामिछानेलाई के दिए जवाफ ?

राहुल गान्धीलाई जवाफ नदिएका मोदीले रवि लामिछानेलाई के दिए जवाफ ?

उद्योगपति गौतम अडानीको विषयलाई लिएर अहिले भारतिय संसदमा हंगामा भईरहेको छ। अघिल्लो महिना अमेरिकी फर्म हिडनबर्गले जारी गरेको रिपोर्टमा उद्योगपति अडानी समुहमा ब्यापक हेराफेरी भएको जनाईएपछि विपक्षी दलले आन्दोलन चर्काएको छ।

कांग्रेस सांसद राहुल गान्धीले सरकारमाथि गौतम अडानीको फाईदा र सुरक्षाका लागि काम गरेको आरोप लगाएका छन् । उनले भनेका छन्– ‘सन २०१४ मा गौतम अडानीको र्यांकिङ ६०९ नम्वरमा थियो, त्यसको केही वर्षपछि नै दोस्रो नम्वरमा कसरी आयो ?’ यसको विषयमा अनुशन्धान गर्नु पर्ने विपक्षी दलका सांसदहरुको माग छ।

तर, प्रधानमन्त्री नरेन्द्र मोदीले यस विषयमा कुनै जवाफ दिएका छैनन्। संसदमा मोदीको सम्वोधनका क्रममा विपक्षी दलका सांसदहरुले ‘मोदी–अडानी भाई भाई’ भन्दै नारा लगाउँदा समेत त्यो विषयमा उनले एक शब्द पनि उच्चारण गरेनन्। राहुल गान्धी र विपक्षी दलको प्रश्न र आन्दोलनले उनलाई कुनै फरक परेको छैन।

राहुल गान्धीको प्रश्नको जवाफ नदिएका तिनै मोदीबाट नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जवाफको आशा राखेका छन् । गएको संघीय चुनावबाट राष्ट्रिय राजनीतिमा उदाएको रास्वपाका सभापति लामिछाने नागरिकता प्रकरणमा अदालतबाट दोषी ठहर भएपछि गृहमन्त्री र सांसद पदबाट च्युत भए। 

त्यही झोंकमा २२ माघमा पत्रकार सम्मेलन आयोजना गरेका उनले नरेन्द्र मोदीलाई अंग्रेजी र हिन्दीभाषाबाट सम्बोधन गर्दै भने– ‘मोदीजी जसले तपाईंको नाममा यहाँ लुटिरहेका छन्, तिनले नेपाल र भारतको सम्बन्ध अगाडि बढाउने सोचिरहेका छैनन्। तपाईंलाई लागिरहेको होला, हाम्रो सम्बन्ध निकै उचाइमा पुगेको छ, यी भन्ने कुरा मात्र हुन। जसले दलाल बनेर काम गरिरहेका छन उनीहरुलाई विश्वास नगर्नाेस्। यो भारतीय लाइन हो भन्दै तिनले गरिरहेको धन्दा बन्द गरिदिनोस्। यदि साँच्चिकै दुई देशबीचको सम्बन्ध सुधार्नु छ भने पत्रकार र प्रकाशकलाई दलालको रुपमा नपठाउनोस्। सिधै कुरा गर्नाेस्।’

रविलाई के लागेको छ भने निर्वाचन परिणामलगत्तै एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबैलाई चकित पार्दै लामिछानेलाई महत्वपूर्ण जिम्मेवारी सहित अगाडि सारेर काङ्ग्रेस–माओवादी गठबन्धन भताभुङ्ग पारी ‘वाम–गठबन्धन’ बनाएदेखि नै भारतीय संस्थापन पक्ष ओलीसँग क्रुद्ध छ। र, जसरी हुन्छ, ऊ वाम–गठबन्धन भत्काउन प्रयत्नशील छ।

भारत–अमेरिकी स्वार्थमा बनाइएको ‘लोकतान्त्रिक–वाम गठबन्धन’ देउवाको पदलोलुपताका कारण चिनियाँ पोल्टामा गई वाम–गठबन्धन बन्न पुगेकोले भारतीय संस्थापन पक्षले ओलीको वायुपंखी घोडा रविमाथि नै आक्रमण गरी ओलीको वेग रोक्न खोजेको तिनको बुझाइ छ।

त्यसैले रविले मोदीलाई ‘दलाल मार्फत नभई सिधै कुरा गर‘ भनि अनुनय गरेका हुन्। उनले ‘तिमीले विश्वास गरेका पत्रकार र प्रकाशकभन्दा म विश्वासिलो छु, मसँग कुरा गर।’ भन्न खोजेको स्पष्ट छ। अव मोदीले उनलाई कति भाउ दिन्छन् (सम्वोधन गर्छन) त्यो भने हेर्न वाँकी छ।
 

रवि लामिछाने

विशेष