News

रास्वपा पार्टी नै खारेज हुने भएपछि एमालेसँग एकीकरणको हतारोमा रवि लामिछाने

रास्वपा पार्टी नै खारेज हुने भएपछि एमालेसँग एकीकरणको हतारोमा रवि लामिछाने

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको कट्टर आलोचक रहेका रवि लामिछाने अहिले उनै ओलीको समर्थक बनेका छन्। उता ओलीले पनि रवि लामिछानेसँग भएको जनमत आफूतिर तान्ने प्रयास गरिरहेका छन्। 

नागरिकता निस्कृय भएको अवस्थामा पार्टी दर्ता गरेर चुनावमा गएका रविकै कारण अहिले पार्टी खारेजीको अवस्थामा पुगेको छ। रवि लामिछानेले प्रयोग गरेको नागरिकता निस्कृय भएको भन्दै सर्वोच्च अदालतले उनको राजनीतिक अधिकार अवैध भएको फैसला गरेपछि उनले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वैधानिकता नै संकटमा परेको छ। 

लामिछानेले प्रयोग गरेका केही राजनीतिक अधिकार अवैध ठहरिँदा उनले खोलेको राजनीतिक दलको वैधानिकतामाथिको उजुरी निर्वाचन आयोगमा छ। नेपालको संविधान र राजनीतिक दलसम्बन्धी ऐन २०७३ ले नेपालको नागरिक नै नभएको व्यक्तिलाई ‘राजनीतिक अधिकार’ दिएको छैन। दल खोल्ने विषय पनि राजनीतिक अधिकारभित्रै पर्छ। 

यस्तोमा राजनीतिक अधिकार नभएको व्यक्तिको अध्यक्षतामा खोलिएको दलमाथि नै प्रश्न उठिरहेको छ। यस्तै प्रश्न उठाउँदै बुधबारसम्म निर्वाचन आयोगमा तीनवटा उजुरी परेका छन्। लामिछानेको अध्यक्षतामा निर्वाचन आयोगमा असार १७ गते दर्ता नम्बर १८७ मा रास्वपा दर्ता भएको थियो।

लामिछानेले अवैध ठहर भएको नागरिकता प्रमाणपत्र प्रयोग गरेर दल दर्ता गरेको र सांसदको उम्मेदवार बनेको विषयमा प्रश्न उठाउँदै दल दर्ता खारेज हुनुपर्ने माग गरिएको छ। उजुरीमा कानुनतः अवैध नागरिकले अध्यक्षता गरेको बैठक नै अवैध हुने र त्यो बैठकबाट निर्माण भएको, दर्ता भएको दल अवैध हुने कानुन ब्यवसायीहरु बताउँछन्। 

यसरी पार्टी अवैध हुने निर्णय भएपछि रास्वपाका सांसदहरुको पद नै खारेजी हुने भएकोले रवि लामिछानेलाई पार्टी र अन्य सांसदको पद जोगाउने हतारो रहेको देखिएको छ। यसका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहजीकरण गरिदिने र त्यसका लागि आफ्नो पार्टीसँग एकीकरण गर्न प्रस्ताव गरेको स्रोतले जनाएको छ। 

पार्टी एकीकरण गर्न रवि लामिछाने पनि सकारात्मक देखिएका छन्। तर, उनले आफूलाई महासचिव बनाइनुपर्ने माग गरेका छन्। ओलीले भने पार्टीको विधान अनुसार अहिले एक जना मात्रै महासचिव रहेको र बरु महासचिवभन्दा माथि उपाध्यक्ष पदमा बस्न प्रस्ताव गरेका छन्। 

नेकपा एमालेमा महासचिव शक्तिशाली पद हो। उक्त शक्तिशाली पद नै आफूलाई चाहिने र दुई महासचिवको व्यवस्था गरेर भए पनि आफूलाई दिन उनले माग गरेको एमाले स्रोतले जनाएको छ। उनले नेपाली कांग्रेसमा दुई महामन्त्रीको व्यवस्था भएको भन्दै आफूलाई महासचिव दिन माग गरेका हुन्। 

तर, ओलीले भने संकटमा परेका रवि लामिछानेलाई उनको बाध्यतालाई बुझेर आफ्नो पार्टीसँग एकीकरण गराउने तयारी गरेका छन्। रविविरुद्ध परेका उजुरीमा हाल कारबाही अघि नबढाउन ओलीले निर्वाचन आयोगलाई निर्देशन दिएको जनाईएको छ। 

प्रमुख निर्वाचन आयुक्त ओलीले नियुक्त गरेका दिनेश थपलिया रहेका छन्। ओलीकै निर्देशनमा तीनवटा उजुरी परिसक्दा पनि निर्वाचन आयोगले भने यस विषयमा अहिलेसम्म निर्णय दिएको छैन।

रवि लामिछाने

विशेष