News

डाक्टर कुट्ने प्रहरी वरिष्ठ हवल्दार निलम्बित

डाक्टर कुट्ने प्रहरी वरिष्ठ हवल्दार निलम्बित

राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा चिकित्सकमाथि कुटपिट गरेको आरोपमा एक प्रहरी वरिष्ठ हवल्दार निलम्बनमा परेका छन् ।

शुक्रबार ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहलाई कुटपिट गरेको आरोपमा प्रहरी वरिष्ठ हवल्दार शम्भुजंग गुरुङ निलम्बनमा परेका हुन् । 

शुक्रबार राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभालाई संयुक्त सम्बोधन गर्ने कार्यक्रम थियो । त्यसका लागि शितलनिवासबाट बानेश्वरसम्म आउने र पुन शितलनिवास फर्कने क्रममा उपत्यका ट्राफिक प्रहरी कार्यालयले सडक खाली गराएको थियो ।

त्यस क्रममा राष्ट्रिय ट्रमा सेन्टर बाहिर चिकित्सक जनिथलाल सिंह कुटपिटमा परेका थिए । प्रहरीले फिल्मी शैलीमा आफूमाथि कुटपिट गरेको उनले बताएका छन् । टाउको र हातमा चोट लागेपछि उनलाई ट्रमा सेन्टरको आईसीयूमा ‘अब्जर्भेसन’ मा राखिएको छ ।

प्रहरीले ट्रमाका अरू चिकित्सकहरूलाई पनि कुटपिट गरेको छ । डा. सिंहमाथि कुटपिट भएको विरोधमा उत्रिँदा मेडिकल अधिकृत डाक्टर जाफिर आलमलगायतमाथि पनि हातपात भएको छ ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलका अनुसार घटनाको अनुसन्धान गर्नका लागि गुरुङलाई निलम्बन गरिएको हो । काठमाडौं प्रहरी वृत्त जनसेवामा कार्यरत गुरुङलाई काठमाडौं जिल्ला प्रहरी परिसरले निलम्बन गरेको हो ।

डा. जनिथलाल सिंह चिकित्सक कुटिएपछि राष्ट्रपतिको सवारी शैलीबारे सामाजिक सञ्जालमा व्यापक विरोध भएको छ । सवारीका कारण लामो समयसम्म सर्वसाधारणले जाम पनि व्यहोर्नु परेको थियो । 
 

विशेष