News

रौतहटमा दुई पक्षबीच झडप, ४ जना घाईते

रौतहटमा दुई पक्षबीच झडप, ४ जना घाईते

रौतहटको बृन्दावन नगरपालिकामा शनिबार दुई पक्षबीच झडप हुदा चार जना घाइते भएका छन् । वाग्मती नदीको रमौली र बिश्रामपुर खोलाबाट निकालिने गिटी, बालुवा निकासी करको विषयमा विवाद हुँदा झडप भएको हो।

स्थिति नियन्त्रणमा लिन घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । नदीबाट निकासी हुने वस्तुको कर उठाउने विषयमा शनिबार अपराह्न दुबै पक्षबीच झडप भएको जिल्ला प्रहरी प्रमुख वीरबहादुर बुढामगरले बताए । 

नगरप्रमुख विनोद पटेलले मनपरी गरेको भन्दै विरोधमा निस्किएका स्थानीयले कर उठाउन बनाइएको झुपडी घरसमेत भत्काई आगजनी गरिदिएका छन् । वाग्मती नदीको दुबै घाटबाट अमानतमा गिटी, बालुवा निकासी हुँदै आएपछि स्थानीयले विरोध जनाएको थियो ।

यहीबीच शुक्रबार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका स्थानीय नेता बसेर तत्काल अमानतमा निकासीको रसिद काट्न नदिन नगरप्रमुख विनोद पटेललाई अनुरोध गरेका थिए । नगरप्रमुख पटेलले तत्काल अमानतमा कर नउठाउने आश्वासन दिए पनि उनका आफन्तहरु मिलेर शनिबार घाटमा रसिद काट्न थाले पछि झडप भएको हो ।

स्थानीय नदिमै पुगेर रोक्न खोजेपछि झडप भएको एमाले नेता प्रेमशंकर यादवले बताए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर भुजेलकै मिलेमतोमा अमानतमा निकासीको कर काट्ने काम भइरहेको भन्दै उनलाई कारबाहीको माग अघि सारेका छन् ।

बृन्दवन नगरपालिकाले तीन महिनाअघि दुबै नदीबाट गिटिजन्य वस्तु निकासीका लागि ३ करोडमाथि मूल्य राखेर ठेक्का आह्वान गरेको थियो । तर, मूल्य बढी भएको भन्दै कसैले पनि सकार गरेनन् । त्यसपछि नगरप्रमुख पटेलले आफ्ना मानिस लगाएर अमानतमा कर उठाउन खटाएका हुन् ।
 

विशेष