News

संसदमा उठ्यो राजा फर्काउने कुरा, मन्त्रीनै संघीयता विरोधी भएको आरोप

संसदमा उठ्यो राजा फर्काउने कुरा, मन्त्रीनै संघीयता विरोधी भएको आरोप

प्रतिनिधि सभाको वुधवारको वैठकमा राजा फर्काउने र संघीयता मास्ने विषयमा सांसदहरुले चर्को वहस गरेका छन्। राप्रपाका सांसदले राजतन्त्रको पुनर्स्थापना र संघीयता विरोधी कुरा गरेपछि संसदमा दोहोरीकै अवस्था उत्पन्न भएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर जबराले राप्रपा नेपाल सनातन हिन्दु धर्म कायम गर्नका लागि आएको बताए। संसद् बैठकको विशेष समयमा बोल्दै उनले राजासहितको प्रजातन्त्रलाई स्थापित गर्न आफूहरु आएको अभिव्यक्ति दिए। उक्त कुरालाई संविधानले रोक्न नसक्ने उनको प्रस्टोक्ति थियो।

‘यी संविधानका अपरिवर्तनीय बुँदा होइनन्। यी विषयमा हामीले बोल्न पाउनुपर्छ। हामी बोल्छौं। हामी समयमा कार्यान्वयन गर्छौं,’ उनले भने, ‘त्यसको मतलब यो होइन कि हामी संविधान र व्यवस्थालाई मान्दैनौं। हामी संविधान र व्यवस्थालाई नमान्ने भए जंगल जान्थ्यौं। बन्दुक उठाउँथ्यौं।’

यता, सहरी विकासमन्त्री विक्रम पाण्डेको अभिब्यक्तिलाई लिएर सत्तारुढ नेकपा (एमाले)का सांसद एवम पूर्वमन्त्री रघुजी पन्तले आलोचना गरेका छन् । संविधान र कानुन विपरित प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनलाई समेत अस्वीकार गर्दै राप्रपाका नेतासमेत रहेका पाण्डेले गृहजिल्ला चितवनमा संघीयताविरोधी अभिव्यक्ति दिएको भन्दै उनले आपत्ति जनाए।

संसद बैठकको विशेष समय लिएर बोल्दै सांसद पन्तले संविधान र कानुनको परिधिभित्र रहेर मन्त्रीहरु चल्नुपर्नेमा त्यसविपरीत जानु मुलुकको लागि हितमा नभएको बताए।

उनले यो सरकारमा गइसकेपछि मन्त्रीहरुले संघीयताविरुद्ध बोल्न नहुने तर्क गरे। ‘राष्ट्रियसभामा प्रधानमन्त्रीले बोलेको सुने। उहाँले भन्नु भयो–मन्त्रीले संघीयताविरुद्ध बोल्न मिल्दैन। संविधानका धारणाविरुद्ध बोल्न मिल्दैन। प्रधानमन्त्रीले भाषणा गरेको भोलिपल्ट सहरी विकासमन्त्रीले चितवनमा आफ्नो पार्टीले संघीयता नस्वीकारेको भन्नु भयो’, उनले अगाडि भने, ‘संघीयता र गणतन्त्रविरुद्ध अभिव्यक्ति दिने कानुन मन्त्रीलाई स्पष्टीकरण सोध्ने प्रधानमन्त्रीले चेतावनी दिए पनि राप्रपाले त्यसलाई नमान्ने भन्यो। सहरी विकास मन्त्रीले चितवन पुगेर संघीयता स्वीकारेका छैनौँ भन्नु भयो।’
 

विशेष