राजा फर्काउने अभियानमा लागेका हुन दुर्गा प्रसाई ?
![राजा फर्काउने अभियानमा लागेका हुन दुर्गा प्रसाई ?](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2021/12/durga-prashain.jpg)
मार्सि चामलका नामले समेत परिचित चर्चित मेडिकल ब्यपवसायी दुर्गा प्रसाई यतिबेला राजा फकाएउने ‘महाभियान’ मा जुटेका छन्। उनको अभियान फागुन १ गतेदेखी सुरु हुँदैछ।
मेचीको पुलमा गुरुहरुको हातबाट नौमुखे दियो बालेर अभियानको उद्घाटन गर्ने उनको तयारी छ । उनले पूर्वराजा ज्ञानेन्द्र र पूर्वयुवराज पारसलाई सो कार्यक्रममा सहभागी हुन निम्ता दिएका छन् । पूर्वराजा सहभागी हुनेमा आफू विश्वस्त रहेको प्रसाईले बताए । यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि बोलाएका छन् ।
राजावादीहरुले प्रसाईंको महाअभियानलाई राजतन्त्र फर्काउने आन्दोलनको पूर्वाभ्यासका रुपमा बुझेका छन् । अभियान घोषणाअघि प्रसाईले पूर्वराजा ज्ञानेन्द्र र उनका छोरा पारसलाई तारन्तार भेटेका थिए । आफ्ना अन्तरवार्ताहरुमा उनी गणतान्त्रिक व्यवस्थाप्रति उनले दिक्दारी पोखिरहेका छन्।
तर, प्रसाई भने यो कुरा स्विकार गर्दैछन् । गणतन्त्रमा आफ्ना हजारौं गुनासो भए भए पनि यो महाभियान राजा फर्काउनका लागि नभएको उनको भनाई छ। ‘यदि जनताले चाहेको खण्डमा गणतन्त्र उल्टिएर राजतन्त्र फर्किदैन भन्ने छैन,’ उनले भने, ‘तर, मेरो अभियान चाहीँ त्यसका लागि होइन ।’
गणतन्त्रले देशको धर्म–संस्कृति नाश गरेको र उद्योगधन्दा धराशयी बनाएको उनको वुझाई छ। ‘एक करोड उर्जाशील युवायुवतीलाई विदेश धकेल्यो । समाजमा विग्रह र विभाजन पैदा गर्यो । आफ्नो व्यवसाय गरेर खाने वातावरण दिएन’ उनी भन्छन्–‘गाउँमा मलामी पाउन छोडिएको छ । दैनिक ३० जना नेपालीहरु विदेशबाट बाकसमा आउँछन् । यो ३० वर्षमा देश सर्वत्र उजाडीएको छ ।’
‘हामीले उनीहरुको कुर्सी खोस्न खोजेका थिएनौं । तिमीहरुको राजनीति तिमीहरु गर, प्रधानमन्त्री–राष्ट्रपति कसले खानुपर्छ खाउ, केवल हामीलाई काम गर्ने वातावरण देउ मात्रै भनेका हौं । त्यो पनि पाएनौं । त्यसको परिणाम ५५ जना व्यापारी र १० जना नेता पार्टनर भएर सर्वत्र हालिमुहाली गरे’ उनले भने–‘बैंक पनि यिनैका हातमा, लघुवित्त पनि यिनैका हातमा, सहकारी–इन्स्योरेन्स, रक्सी, गाडी सबै उनीहरुकै । त्यसले गर्दा मान्छे झुण्डिएर मर्न थाले । लघुवित्तको पैसा तिर्न नसक्दा एउटै रुखमा ३ चेली झुण्डिएर आत्महत्या गरे मेरै गाउँमा । त्यो घटनाले मलाई ज्यादै औडाहा भयो । यही दुखद परिस्थितिको अन्त्य गर्नका लागि हामीले महाअभियान थाल्न लागेका हौं ।’
डुब्न लागेको देश र नागरिक बचाउने महाअभियानमा आफु लागेको प्रसाईको भनाई छ। प्रसाईले स्वीकार नगरे पनि पछिल्ला दिनमा उनका अभिव्यक्तिहरुमा पूर्वराजसंस्थाप्रति सदासयता स्पष्ट झल्किन्छ । एक महिनाभित्र चारपटक पूर्वराजालाई भेट्नुले पनि उनको अभियानप्रति आशंका गर्न सकिन्छ।
‘यो देशलाई एउटा मियो चाहिएको छ । भोलि जनताले खुशी भएर राजा राख्छन् भने कसलाई किन टाउको दुखाइ ? हिजो यिनै जनताले गणतन्त्र ल्याएको हो भने भोलि राजतन्त्र फर्काउन पनि सक्छन् ।’ उनी भन्छन्।
संघीयता खारेज, धर्मनिरपेक्षताको साटो वैदिक सनातन राज्य बनाउनुपर्ने र देशमा गरिखान पाउने व्यवसायीक वातावरण निर्माण गर्नु आफनो उदेश्य भएको उनले वताए । एमालेका नेतासमेत रहेका उनले आफूले एमाले अध्यक्ष ओलीलाई पनि कम्तिमा चारपटक भेटेर धर्मनिरपेक्षता र संघीयता उल्टाउनका निम्ति पहल गर्न आग्रह गरेको बताए।