News

पार्टी निर्णय विपरित कांग्रेस उम्मेदवारलाई भोट हालेपछि मन्त्री पद खोसियो !

पार्टी निर्णय विपरित कांग्रेस उम्मेदवारलाई भोट हालेपछि मन्त्री पद खोसियो !

राष्ट्रिय सभा निर्वाचनमा अन्तरघात गरेको पुष्टि भएपछि माओवादीकी एक प्रदेश मन्त्रीको मन्त्री पद खोसिएको छ। माओवादीका तर्फबाट लुम्बिनी प्रदेशको मन्त्री बनेकी कृष्णा केसीको पद खोसिएको हो। उनले मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा बुझाएकी हुन् ।

माओवादीको प्रदेश कमिटीले उनलाई राजीनामा दिन लगाएको हो । यही माघ २५ भएको राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार कुमार दसौदीलाई मतदान नगरी कांग्रेसलाई सघाएको उजुरी परेपछि उनीमाथि पार्टीले छानबिन गरेको थियो ।

प्रदेश कमिटीका एक पदाधिकारीले भने– कृष्णा कमरेडले राष्ट्रिय सभाको चुनावमा सत्ता गठबन्धनका उम्मेदवारलाई भोट नहालेको उजुरी परेको थियो । छानबिन गर्दा उहाँले काँग्रेसका उम्मेदवारलाई भोट हालेको पाइएपछि राजीनामा दिन लगाइएको हो ।

माओवादीको केन्द्रीय कमिटी सदस्य समेत रहेकी केसीले राजीनामा बुझाएसँगै मोबाइल स्वीच अफर गरेकी छन् ।उनी बाँके १ को प्रदेश सभा क्षेत्र नम्बर १ बाट निर्वाचित भएकी हुन् । २८ पुसमा सपथ लिएसँगै मुख्यमन्त्री लीला गिरीले सोही दिन तीन सदस्यीय मन्त्रिमण्डल गठन गरेका थिए।

मन्त्री बनेका अन्य दुई जना बिनाविभागीय हुन्। एमालेबाट चेतनारायण आचार्य र माओवादी केन्द्रबाट कृष्णा केसी बिनाविभागीय मन्त्रीको रुपमा थिए। २७ पुसमा नियुक्त भएका मुख्यमन्त्री गिरीले प्रदेशसभाबाट ५ माघमा विश्वासको मत लिएका थिए। 

स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा तत्काल मन्त्रालय राख्ने र आवासको समेत व्यवस्थापन गर्नु परेकाले मन्त्रिपरिषद् विस्तारमा केही ढिलाइ भएको हो। लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या घटाइएकाले मुख्यमन्त्रीसहित १० मन्त्रालय रहनेछन्।

विशेष