News

पृथ्वीबहादुरले अमेरिकाबाट भित्र्याएको ६१ करोडको स्रोत ‘ठगी’ 

पृथ्वीबहादुरले अमेरिकाबाट भित्र्याएको ६१ करोडको स्रोत ‘ठगी’ 

सीआईबीको हिरासतमा रहेका पृथ्वीबहादुर शाहले अमेरिकाबाट पाँच वर्षमा भित्र्याएको ६१ करोड ३५ लाख ९६ हजार ४४ रुपैयाँ अमेरिकी डलर ठगी गरेर कमाएको खुलेको छ। सबै रकम विदेशी नागरिकलाई ठगी गरेर नेपाल ल्याइएको अनुसन्धानबाट देखिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ।

ब्यूरोका अनुसन्धान अधिकृतहरुका अनुसार शाहको समूहबाट ठगिमा परेका अमेरिकी नागरिकमध्ये अधिकांश वृद्ध अवस्थाका छन् । कसैलाई घरमा सामान सप्लाई गरिदिन्छु तथा कसैलाई कम्युटर एसोसरिज पठाइदिन्छु भन्दै ठगी गरेको देखिएको छ । यसैगरी एन्टीभाईरल नविकरण गरिदिने नाममा समेत रकम चोरी गरेको पाईएको छ।

सीआईबीले गरेको अनुसन्धानका क्रममा शाहसहितको समूहले अमेरिकी नागरिकलाई ठगेर ४६ लाख ४६ हजार ७३७ अमेरिकी डलर ठगी गरेर ल्याईएको पाईएको छ। विभिन्न ११ वटा बैंकमा रहेको त्यो रकम नेपाल राष्ट्र बैंकले रोक्का गरेको छ।

त्यसबाहेक पनि शाहको खातामा बेलायती पाउण्ड १२ हजार ८२५ (नेपाली रुपैयाँ २० लाख ४१ हजार) जम्मा भएको देखिएको प्रहरीले जनाएको छ । शाहसहितको समूहले कम्पनी रजिष्ट्रारको कार्यालयमा वर्ल्ड ट्राभल्स एण्ड इन्भेष्टमेन्ट प्रालि, वर्ल्ड फस्ट होलिडे प्रालि, वर्ल्ड वाइड रेमिट प्रालि, वर्ल्ड एक्सपोर्ट एण्ड इम्पोर्ट प्रालि, टाइम्स टुडे पिस होलिडे इन्भारमेन्ट प्रालि, वर्ल्ड एट वर्क कन्सल्टेन्स प्रालि लगायतका कम्पनीहरु दर्ता गरेर रकम भित्र्याएको देखिएको छ ।

०७४ सालयताका शंकास्पद रकमबारे अहिले छानबिन भइरहेको छ । ब्यूरोले अनुसन्धान थालेपछि अहिलेसम्म ९ जना अमेरिकी नागरिकले शाहविरुद्ध किटानी जाहेरी दिएको ब्युरोका निर्देशक उत्तमराज सुवेदीले बताए ।

अमेरिकी नागरिक जुलिया होड्याज रिकेटलाई शाहको समूहले ‘एन्टी भाइरस’ नवीकरण गर्न भन्दै सम्पर्क स्थापित गरेको र उनको कम्युटरमा पहुँच बनाएर ‘एन्टी भाइरस’ नवीकरणवापत पैसा पठाउन भन्दै झुक्क्याएर रकम चोरी गरेको उजुरीमा उल्लेख छ। ‘एन्टी भाइरस नवीकरण गर्ने भन्दै डलर खातामा पहुँच बनाएर आफूखुशी ट्रान्सफर गरेको देखिएको छ’, अनुसन्धानमा संलग्न एक अधिृकतले भने, ‘त्यसरी बेइमानीपूर्वक चोरेको रकम वायर स्क्याम गरेर स्वीफ्टमार्फत नेपाल पठाएको देखिएको छ ।’

ब्यूरोले २२ पुसमा पृथ्वीसहित ६ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका अन्य व्यक्तिहरुलाई उनले कम्पनी स्थापनाका लागि प्रयोग गरेका थिए । पृथ्वीका भाइ विजयविक्रम शाहलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीमाथि अनुसन्धान क्रममा पृथ्वीले सरकारी कागजात कीर्ते गरेको पनि फेला परेको छ ।

ब्यूरोका एक अधिकृतका अनुसार शाहले चाबहिलमा भाइ विजयको नाममा रहेको जग्गाको मूल्यांकन बढाएर बैंकबाट ऋण लिएको पाइएको छ । वित्तीय शुद्धीकरणबारे अनुसन्धान गर्ने अमेरिकी निकाय ‘फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्क (फिन्सेन)’ ले मल्लको कम्पनीहरुमा आएको लगानीको स्रोतबारे शंका गरेपछि नेपाल राष्ट्र बैंकलाई रकम रोक्का राख्न पत्राचार गरेको थियो । त्यसका आधारमा नेपाल राष्ट्र बैंक, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग लगायतले पनि अनुसन्धान थालेका थिए ।

अनुसन्धानका लागि विवरणहरु ती निकायमा पुगिसकेको अवस्थामा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकमा तोक लगाएर शाहको रोक्का भएको रकम फिर्ता गर्न दबाव दिएको सार्वजनिक भएको थियो । यही प्रकरणले गभर्नर महाप्रसाद अधिकारी र शर्माबीच विवाद उत्कर्षमा पुगेको थियो ।
 

पृथ्वीबहादुर शाह

विशेष