News

प्रहरीले डाक्टर कुटेको विरोधमा देशभरका संस्थाको ओपीडी सेवा बन्द

प्रहरीले डाक्टर कुटेको विरोधमा देशभरका संस्थाको ओपीडी सेवा बन्द

प्रहरीले चिकित्सकलाई कुटपिट गरेको विरोधमा नेपाल चिकित्सक संघले आज (आइतबार) देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेक सबै बन्द गराएको छ। 

प्रहरीले राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहलगायत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लाठी चार्ज गरी घाइते बनाएको विरोधमा संघले देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठानलगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालबाट प्रवाह हुने आकस्मिकबाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय गरेको हो।

राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार संसद् बैठकलाई सम्बोधन गरी फर्कने क्रममा सडकमा निस्किएको भन्दै प्रहरीले डाक्टरमाथि कुटपिट गरेको थियो। 

संघका अध्यक्ष डा. लोचन कार्कीले राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहलगायत अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रहरीले लाठी चार्ज गरी घाइते बनाएको घटनाप्रति संघको गम्भीर ध्यानकर्षण भएको बताएका छन्। 

स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रको शान्ति सुरक्षाका निम्ति आवश्यक व्यवस्थापन गर्न तथा सुरक्षाको नाममा भीभीआईपीको सवारीबाट आम सर्वसाधारणले पाइरहेको दुःख र सास्तीलाई सदाका लागि अन्त गरी उचित विधि स्थापित गर्न संघको कार्यकारिणी समितिको आकस्मिक बैठकले उक्त निर्णय गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ।

यसैविच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाल चिकित्सक सङ्घलाई अस्पताल बन्द गर्ने निर्णय फिर्ता लिन आग्रह गरेको छ । रास्वपाका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकालले आज एक विज्ञप्ति जारी गरी चिकित्सकमाथि प्रहरीद्वारा भएको लाठीचार्जको घटनाप्रति दुःख व्यक्त गर्दै चिकित्सक सङ्घलाई अस्पताल बन्द गर्ने निर्णय फिर्ता लिन आग्रह गरेका हुन् ।

रास्वपाले राष्ट्रपति तथा अन्य उच्च पदस्थ व्यक्तित्वहरूप्रति जनआस्था र विश्वासलाई कायम राख्न सुरक्षा र सवारीका नाममा दैनिक जीवनयापनमा असहज अवस्था सिर्जना गर्न नहुने बताएको छ । अस्पताल बन्द गर्ने कार्यले नागरिकलाई थप दुःख हुने भएकाले अस्पताल बन्द गर्ने कार्यक्रम फिर्ता लिन रास्वपाले अनुरोध गरेको छ । 
 

विशेष