News

जनार्दन शर्माको वजेटमा विष्णु पौडेलको कैची, पूँजिगत खर्च र राजश्व संकलनको लक्ष्य घटाईदै

जनार्दन शर्माको वजेटमा विष्णु पौडेलको कैची, पूँजिगत खर्च र राजश्व संकलनको लक्ष्य घटाईदै

अर्थमन्त्री विष्णु पौडेलले तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले ल्याएको चालू आर्थिक वर्ष (२०७९/८०) को बजेट समीक्षा सार्वजनिक गर्दैछन् । शर्माले ल्याएको ठूलो आकारको बजेटमा अर्थमन्त्री पौडेल अनुदार देखिएको अर्थमन्त्रालयल स्रोतले जनाएको छ ।

तत्कालीन अर्थमन्त्री शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रूपैयाँ बराबरको बजेट ल्याएका थिए । तर, माघ महिना सकिन लाग्दा समेत बजेट खर्च सन्तोषजनक नदेखिएपछि पौडेलले कैँची चलाएको जनाईएको छ। 

विशेषगरी पूँजीगत खर्चको निराशाजनक कार्यान्वयनका कारण लक्ष्यअनुसार बजेट खर्च गर्न नसकेको र राजस्व संकलन पनि प्रभावकारी नभएकाले दुवैको लक्ष्य घटाइएको छ । कति घटाइएको हो भन्नेबारे ती अधिकारीले खुलाएका छैनन्।

हालसम्म ६ खर्ब ६३ अर्ब ३५ करोड २० लाख रूपैयाँ बजेट खर्च भएको छ । यो भनेको विनियोजित बजेटको करिब ३७ प्रतिशत हो । झण्डै ७ महिनामा ३७ प्रतिशत मात्र बजेट खर्च हुनुलाई विज्ञहरुले सरकारको प्रभावकारी कार्यान्वयनमै प्रश्न उठाएका छन् । यो अवधिमा करिब १७ प्रतिशत मात्र पूँजीगत खर्च भएको छ । चालु आवका लागि ३ खर्ब बढीको पूँजीगत शीर्षकमा बजेट छुट्याइएको थियो ।

यस्तै माघ २८ गतेसम्म राजस्व संकलन पनि लक्ष्यको ३६.४९ प्रतिशत मात्र भएको छ । १४ खर्ब ३ अर्ब बढी राजस्व संकलनको लक्ष्य बजेटले लिएको थियो । तर, हालसम्म ५ खर्ब १२ अर्ब रूपैयाँ राजस्व संकलन भएको छ । 
 

विशेष