News राजनीति

राष्ट्रपतिबारे गठबन्धनमा मतभेदः देउवा र प्रचण्डबीच २ घण्टा छलफल

राष्ट्रपतिबारे गठबन्धनमा मतभेदः देउवा र प्रचण्डबीच २ घण्टा छलफल

आईतवार सम्पन्न उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकपछि वाहिरिने क्रममा राप्रपा अध्यक्ष एवं उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री राजेन्द्र लिङदेनले सत्ता गठवन्धनमा कुनै असमझदारी नरहेको वताए ।

सरकार सञ्चालनमा आपसी समन्वयको कमी देखिएको र यस्ता कमीकमजोरीलाई हटाएर अघि बढ्ने सहमति भएको उनले बताए।  राष्ट्रपतिका विषयमा बाहिर आएका कुराहरू भ्रमपूर्ण रहेको बताएका उनले सरकार गठन भएका बेला भएको सहमति अनुसार नै अघि बढ्ने जानकारी दिए।

लिङ्देनले राष्ट्रपतिबारे गठबन्धनमा मतभेद नरहेको जिकिर गरे। ‘बाहिर आइराखेका कुरा भ्रमपूर्ण छन् । हामीले यो सरकार निर्माणका क्रममा जुन सहमति कायम गरेका थियौँ, त्यो सहमतिमा सत्तासाझेदार दलमा कुनै विमति छैन’ उनले भने, ‘सहमतिमा परिवर्तन गर्नुप¥यो भने त्यो छलफलबाटै हुन्छ । अहिले त्यस्तो सम्भावना छैन । आज त्यसबारे छलफल भएन ।’

तर, बास्तविक्ता भने उनले ब्याख्या गरेजस्तो छैन। राष्ट्रपति निर्वाचनकै कारण पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सम्वन्ध प्रगाढ भएको छ। उनीहरुले शनिवार साँझ दुई घण्टाभन्दा वढि राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे छलफल गरेका छन्।

पछिल्लो समय कांग्रेस र माओवादी नेताहरुहरुको भेटघाट बाक्लिएको छ। बिहीबार कांग्रेस महामन्त्री गगन थापा र प्रधानमन्त्री दाहालबीच बालुवाटारमा भेटवार्ता भएपछि पनि देउवाले दाहालसँग छुट्टै छलफल गरेका थिए।

भेटमा राष्ट्रपतिको सम्भावित उमेदवारहरुको विषयमा छलफल भएको बालुवाटार स्रोतले बताएको छ। यद्यपी, उनीहरुले छलफल गरेका सम्भावित उमेदवारहरुको नाम भने स्रोतले खुलाउन चाहेन। नेपाली कांग्रेसले आफूले भनेको व्यक्ति राष्ट्रपति हुनुपर्ने दावी गर्दै आएको छ। माओवादी केन्द्रले समेत कांग्रेसले दिने उमेदवारप्रति लचक हुने संकेत देखाएको छ।

राष्ट्रपतिको विषयलाई लिएर कांग्रेस सभापति देउवाले गत साता एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका थिए। देउवाले नेपालसँग राष्ट्रपतिमा कांग्रेसले उमेद्ववारी दिने र त्यसमा सहयोग गर्न आग्रह गरेका थिए। 

एमालेको समर्थनमा गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका दाहाल राष्ट्रपति निर्वाचनको विषयलाई लिएर कांग्रेससँग नजिकिएका छन्। दाहालले वर्तमान सरकारलाई कांग्रेसको समेत समर्थन भएकाले राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति चयन गर्नुपर्ने बताउँदै आएका छन्। प्रधानमन्त्री मात्र होइन माओवादी केन्द्रका तर्फबाट सरकारमा गएका मन्त्रीहरुले समेत राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति बनाउनुपर्ने अभिव्यक्ति दिँदै आएका छन्। तर एमालेले आफूले सिफारिस गरेको व्यक्ति राष्ट्रपति बन्ने दावी गरेको छ।

माओवादी केन्द्रका महासचिव देव गुरुङले भने एमालेले अगाडि सारेको व्यक्तिमा राष्ट्रिय सहमति जुटाउन सकिने तर्क गर्दै आएका छन्। एमालेले सारेको व्यक्तिलाई माओवादी केन्द्रबाट समर्थन रहने बताउँदै गुरुङले कांग्रेस लगायतका दलबाट पनि सहमति जुटाएर अगाडि बढ्न सकियोस् भनेर प्रयास जारी भइरहेको धारणा राख्दै आएका छन्।

यता दाहाल प्रधानमन्त्री बनेकै दिन एमालेले सिफारिस गरेको व्यक्ति राष्ट्रपति बन्ने विषयमा माओवादी केन्द्रसँग एक प्रकारको सम्झौता भइसकेको एमाले नेताहरुले दावी गरिरहेका छन्। गत साता प्रधानमन्त्रीसँगको भेटमा समेत एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको विषयमा तलमाथि नहुने अडान राखेका थिए।

शुक्रबार संसद बैठकबाटै बाहिरिदै गर्दा सञ्चारकर्मीसँग एमाले अध्यक्ष ओलीले एमालेले सिफारिस गरेको व्यक्ति राष्ट्रपति हुने बताएका थिए। कांग्रेस र माओवादी केन्द्रका नेताहरुको निरन्तर भेटले एमाले भने झस्किएको छ। 
 

राष्ट्रपति

विशेष