News विदेश

टर्की भुकम्पः हजारौं मानिसको मृत्यु भएपछि धमाधम पक्राउ पर्न थाले घर बनाउने ठेकेदार

टर्की भुकम्पः हजारौं मानिसको मृत्यु भएपछि धमाधम पक्राउ पर्न थाले घर बनाउने ठेकेदार

गत सोमबार गएको भूकम्पमा भएको भौतिक क्षती कारण हजारौं मानिसको मृत्यु भएपछि टर्कीमा सरकारले धमाधम घर बनाउने ठेकेदारलाई पक्राउ गर्न थालेको छ। ७.८ म्याग्नेच्युडको उक्त भूकम्पले टर्कीका १० सहर प्रभावित भएका थिए। ती सहरमा एक–दुई तले निजी घर मात्र होइनन्, गगनचुम्बी महल पनि भत्किएका थिए।

ती अग्ला भवन बनाउँदा भवन संहिताको पूर्ण पालना नगरेको भन्दै सरकारले अहिले धमाधक ठेकेदारहरूलाई पक्राउ गरिरहेको छ। द न्युयोर्क टाइम्सका अनुसार १० सहरका १ सय जना बढी ठेकेदार पक्राउ परिसकेका छन्। टर्कीको न्याय मन्त्रालयले प्रान्तीय अधिकारीहरूलाई भूकम्प अपराध अनुसन्धान युनिट बनाउन निर्देशन दिएको छ।

मापदण्ड पूरा नगरी भवन बनाउनेविरूद्ध फौजदारी अभियोगमा मुद्दा चलाउन अभियोजनकर्ता नियुक्त गर्न पनि मन्त्रालयले भनेको छ। भूकम्पमा यति धेरै मानिसहरू मर्नुको प्रमुख कारण भवनहरू मापदण्ड पूरा नगरी बनाइनु भएको भन्दै टर्कीमा व्यापक जनआक्रोश छ। मृतकको संख्या बढ्दै गएका बेला सरकारले उक्त जनआक्रोशलाई मत्थर गर्न ठेकेदार पक्राउ गर्न थालेको हो।

विगत २५ वर्षमा टर्कीले भोगेको यो दोस्रो ठूलो भूकम्प हो। यसअघि सन् १९९९ मा इस्तानबुल नजिकै केन्द्रविन्दु बनाएर आएको ७.६ म्याग्नेच्युडको भूकम्पमा परी झन्डै १८ हजार मानिसको मृत्यु भएको थियो। त्यतिबेला मापदण्ड पूरा नगरी बनाइएका धेरै घरहरू भत्किएका थिए।

आपतकालीन उद्धारको प्रभावकारी संयन्त्र नहुँदा पनि त्यतिबेला धेरै मानिसहरूले ज्यान गुमाएका थिए। अहिलेका राष्ट्रपति रेसेप तैय्यिप एर्दागोनको दल जस्टिस एन्ड डेभलपमेन्ट पार्टी सन् २००२ मा सत्तामा आएपछि आपतकालीन उद्धारको संयन्त्रमा सुधार गरिएको थियो भने ३० लाखभन्दा बढी घरमा प्रबलीकरण गरिएको थियो।

भवन निर्माणको मापदण्ड पूर्ण रूपमा पालना हुन नसक्दा यसपालि पनि धेरै घरहरू भत्किएका छन्। टर्की भूकम्प आइरहने क्षेत्रमा पर्छ। टर्कीको धेरै भू–भाग एनाटोलियन प्लेटमा पर्छ। सन् १९३९ मा आएको भूकम्पमा परी टर्कीमा ३० हजार बढी मानिसको मृत्यु भएको थियो। 
 

विशेष