News

राष्ट्रपतिको सवारी प्रकरणः डाक्टर सिंहले नै हानेका थिए पहिलो लात्ती

राष्ट्रपतिको सवारी प्रकरणः डाक्टर सिंहले नै हानेका थिए पहिलो लात्ती

नेपाल चिकित्सक संघको आन्दोलनका कारण आइतबार बिहान देशभरको स्वास्थ्य सेवा प्रभावित भयो। ट्रमा सेन्टरमा बिरामी उपचार नपाएर अलपत्र परे । कतिपय अस्पतालमा विरामीका आफन्तले आन्दोलन समेत गरे।

ट्रमा सेन्टरका एक चिकित्सकमाथि प्रहरी वृत्त जनसेवाका प्रहरी वरिष्ठ हवल्दार शम्भुजंग गुरुङले शुक्रबार हातपात गरेको भन्दै संघले आकस्मिकबाहेक अस्पतालका सेवा सबै ठप्प पारेपछि उपचारका लागि टाढा टाढाबाट आएका बिरामीहरू बिचल्लीमा परेका हुन् । 

चिकित्सकलाई कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय काठमाडौंले हवल्दार शम्भुजंग गुरुङलाई निलम्बन गरिसकेको छ । तर, घट्नामा प्रहरीको गल्ती देखाईएपछि आक्रमणको सुरुवात भने चिकित्सकबाटै भएको पाईएको छ।

एक प्रहरीको दावी अनुसार प्रहरीले रोक्न खोज्दा सुरुवाती लात्ती डाक्टर सिंहले नै प्रहार गरेका थिए । त्यसको जवाफी प्रहार गुरुङले पनि गरेको ती प्रहरीको दाबी छ । ड्युटीमा रहेका प्रहरी कर्मचारीमाथि हातपात गर्नु फौजदारी अपराध मानिन्छ । 

काठमाडौं प्रहरी परिसरका एसपी  सिताराम रिजालले प्रहरी र चिकित्सक दुवै चौविसै घण्टा खटिने पेसामा व्यक्तिका गैरव्यवसायी गतिविधिका कारण उत्पन्न दुःखद् विषय भएकाले संलग्न प्रहरी कर्मचारीलाई संगठनले कारबाही गरेको बताए ।

डाक्टर सिंहले भने आफूमाथि प्रहरीले फिल्मी शैलीमा कठालो समातेको दाबी गर्दै आएका छन् । नेपाल प्रहरीका पूर्वएआईजी राजेन्द्र सिंह भण्डारीलगायतले राष्ट्रपति सवार घटनामा प्रहरी हवल्दारमाथि भएको कारबाहीबारे असन्तुष्टि जनाएका छन् ।

प्रहरी स्रोतका अनुसार शुक्रबार दिउँसो ३ बजे राष्ट्रपति विद्यादेवि भण्डारीले संसद्को दुबै सदन (राष्ट्रियसभा र प्रतिनिधिसभा) को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम  थियो । त्यसका लागि राष्ट्रपति सवार हुने ‘रुट’मा तीनवटा सुरक्षा निकाय (नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग) का कर्मचारी सडकमा खटिएका थिए । 

राष्ट्रपतिले संसद्मा करिब एक घण्टा लामो सम्बोधन गरिसकेपछि फर्किने क्रममा भने ट्रमा सेन्टर अगाडि राष्ट्रपतिको सवारीका लागि खटिएका प्रहरी हवाल्दार गुरुङ र ट्रमा सेन्टरमै कार्यरत डाक्टर जनिथलाल सिंहबीच विवाद भयो । 

गुरुङसहितको प्रहरी टोलीलाई सुरुमा उनी डाक्टर हुन् भन्ने थाहा पाएन। डाक्टर सिंह ड्युटी सकेर साइकलमा घर फर्किँदै थिए । तर, प्रहरीले राष्ट्रपति सवारी भएको भन्दै उनलाई रोक्न खोज्यो । राष्ट्रपति ट्रमा सेन्टर नजिक पुग्दै थिइन् । अन्य सवारीसाधन रोकिसकेका थिए । डाक्टर सिंहले भने रोक्न मानेन् । उनी साइकलमा सडकमै पुगे । उनले आफु डाक्टर भएको जानकारी समेत दिएनन्।

‘किन रोक्न खोजे को ? म जान्छु’ भन्दै प्रहरीको निर्देशनलाई अवज्ञा गर्न खोजे । ‘प्रहरीले उनलाई रोक्न खोज्यो । त्यहीबेला हवल्दार गुरुङ र सिंहबीच विवाद भएको हो,’ ड्युटीमै खटिएका एक प्रहरीले भने ।

त्यसपछि सिंहले हवल्दार गुरुङलाई लात्तिले हाने। जवाफमा गुरुङ पनि हातपातमा उत्रिएको प्रहरीले स्विकारेका छन् । 

राष्ट्रपति

विशेष