News

पूर्वराजा ज्ञानेन्द्र र पारसलाई राखेर दुर्गा प्रसाईले सुरु गरे ‘नागरिक बचाऊ महाअभियान’

पूर्वराजा ज्ञानेन्द्र र पारसलाई राखेर दुर्गा प्रसाईले सुरु गरे ‘नागरिक बचाऊ महाअभियान’

लामो समयदेखी एक ठाउँमा नदेखिएका पुर्वराजपरिवारका सदस्यलाई मेडिकल व्यवसायी दुर्गा प्रसाईंले एक ठाउँ उभिने संयोग जुराई दिएका छन्। प्रसाईले सुरु गरेको ‘नागरिक बचाऊ महाअभियान’ का कारण पुर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज पारस एकै ठाउँ भेला भएका हुन।

प्रसाईले पूर्वराजपरिवारका सदस्यहरूलाई अघि सारेर आफ्नो महाअभियान सुरू गरेका हुन् । आज मेची पुलमा पूर्वराजाले दीप बालेर महाअभियानको समुद्घाटन गरे। उद्घाटन कार्यक्रममा पूर्वराजासहित उनका छोरा पारस शाह र पूर्वअधिराजकुमारी प्रेरणा शाह पनि उपस्थित थिए । धेरैपछि पूर्वराजाका बाबुछोरा एउटै कार्यक्रममा देखिएका हुन् ।

आजको कार्यक्रममा प्रसाईले राजनीतिक दलका नेताहरूलाई पनि निम्त्याएका थिए । नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य रहेका प्रसाईंले अभियानमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलगायतका नेतालाई निम्ता दिएका थिए।  

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो निम्तो मान्न आउने उनको अपेक्षा थियो । तर, झापामै भए पनि ओली कार्यक्रममा सहभागी भएनन् ।

प्रसाईंले संघीयता खारेजी, वैदिक सनातन राज्य घोषणा तथा व्यवसायीक वातावरणको माग गर्दै ‘नागरिक बचाऊ महाअभियान’ सुरू गरेका हुन् । मेचीपछि महाकालीमा र त्यसपछि काठमाडौंमा द्वीप बालेर महाअभियान अघि बढाउने उनको योजना छ । केही दिनअघि उनले काठमाडौंमा महाअभियानको कार्यालय उद्घाटन गरेका थिए ।
 

विशेष