News

रास्वपा सरकारमा नजाने, ज्वाला संग्रौलालाई बनाईयो केन्द्रीय सदस्य

रास्वपा सरकारमा नजाने, ज्वाला संग्रौलालाई बनाईयो केन्द्रीय सदस्य

राष्ट्रिय स्वतन्त्र पार्टी तत्काल सरकारमा सहभागी नहुने भएको छ। सोमबार बसेको केन्द्रीय समितिको बैठकले पूर्व सहमतिअनुसार गृह मन्त्रालय नपाए सरकारमा नजाने निर्णय गरेको हो।

गृहमन्त्रालय पाए मात्र सरकारमा जाने निर्णय भएको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बताए। गृह मन्त्रालय नपाएपछि रास्वपा २२ माघमा सरकारबाट बाहिरिएको थियो, तर समर्थन फिर्ता लिएको छैन ।

पछिल्लो पटक उच्चस्तरीय राजनीतिक समितिको बैठकमा रास्वपाले चितवन २ मा उपचुनावको उम्मेदवार माग गरेको थियो भने सत्तारुढ दलका नेताहरुले सरकारमा आउन आग्रह गरेका थिए ।

चितवन २ मा आगामी १० वैशाखमा उपचुनाव हुने तय भएको छ । सोमबारको बैठकले उपचुनाव घोषणाको स्वागत गरेको छ र, चुनावमा जान तयार रहने निर्णय गरेको छ ।

यसैगरी, बैठकले १६ जना केन्द्रीय सदस्य थप्ने निर्णय गरेको छ। यसअघि २४ जना सदस्य रहेको रास्वपा अव ४० सदस्यीय बनेको छ। रास्वपाले अहिले केन्द्रीय सदस्य नभएका तर सांसद रहेकाहरूलाई भने केन्द्रीय समितिमा ल्याएको छैन।  

निशा मेहता, विन्दवासिनी कंसाकार, रूपा शंकर, विजय जैरु, मेघ आले, मोहनबहादुर थापा, खुस्बुसरकार श्रेष्ठ, टीका संग्रौला ज्वाला, हरि भट्ट, ध्रुव गिरी, लिमा अधिकारी, रमेश प्रसाईं, अर्जुन अधिकारी, क्रान्तिशिखा धिताल, प्रतिभा रावल र गोमा क्षेत्रीलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। 
 

ज्वाला संग्रौला

विशेष